नेपालमा मात्र तीन महिनामा टिकटकले हटायो १८ लाख ७६ हजार भिडिओ

हेटौंडा टुडे
२०८२ श्रावण १५, बिहीबार १४:२७ गते

हेटौंडा। टिकटकले पहिलो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ।

प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्म आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टहरू पत्ता लगाएर त्यसलाई हटाउन आफूले उठाएका सक्रिय कदमहरूको विवरण राखेको छ। यसले प्रयोगकर्ताहरूलाई सकारात्मक अनुभव दिलाउन मद्दत गर्ने टिकटकको अपेक्षा गरेको जनाइएको छ।

सन् २०२५ को पहिलो त्रैमासिकमा, नेपालमा मात्र टिकटकले १८ लाख ७६ हजार ५६३ वटा भिडियोहरू हटाएको छ। नेपालमा सक्रिय रूपमा हटाइएका भिडियोको दर ९९.६ प्रतिशत रहेको र यसमा ९७.८ प्रतिशत भिडियोहरू २४ घण्टाभित्रै हटाइएका थिए।

विश्वव्यापी रूपमा, टिकटकले यो त्रैमासिकमा २११ मिलियन भिडियोहरू हटाएको छ जुन यस प्लेटफर्ममा अपलोड गरिएको कुल कन्टेन्टको करिब ०.९ प्रतिशत हो। हटाइएका भिडियोमध्ये १८ करोड ४३ लाख ७८ हजार ९८७ वटा भिडियो अटोमेटेड डिटेक्सन प्रविधि प्रयोग गरेर हटाइएका थिए। जबकि ७५ लाख २५ हजार १८४ भिडियो थप समीक्षा गरेपछि पुनःस्थापित गरिएका थिए।

सक्रिय रूपमा हटाइएका भिडियोहरूको दर ९९.० प्रतिशत रह्यो, जसमा ९४.३ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए। हटाइएका भिडियोहरूको ३०.१ प्रतिशत कन्टेन्ट टिकटकको कन्टेन्ट पोलिसीसँग मेल नखाने संवेदनशील वा वयष्क विषयवस्तु भएका थिए भन्ने यस प्रतिवेदनले देखाउँछ।

थप ११.५ प्रतिशत भिडियोहरूले प्लेटफर्मको सुरक्षा र नैतिक मापदण्ड उल्लंघन गरेका थिए, जबकि १५.६ प्रतिशत भिडियोहरूले गोपनीयता र सुरक्षा नियमहरू तोडेका थिए। यसका साथै, हटाइएका भिडियोहरूको ४५.५ प्रतिशत गलत सूचनाका रूपमा फ्ल्याग गरिएका थिए र १३.८ प्रतिशत भिडियोहरू एडिट गरिएका वा एआईले बनाइएको भनेर फ्ल्याग गरिएका कारण हटाइएका थिए।

टिकटकले कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट नियमित रूपमा प्रकाशित गर्दै आएको छ जसले कन्टेन्ट र अकाउन्ट सम्बन्धी कारबाही बारे स्पष्ट जानकारी दिन्छ र यसले टिकटकको ट्रान्सपेरेन्सी पनि देखाउँछ। २०२५ को पहिलो त्रैमासिक विस्तृत रिपोर्ट तथा टिकटकका कन्टेन्ट गाइडलाइन्स, टुल्स र नीतिहरूबारे थप जानकारीका लागि टिकटकको ट्रान्सपेरेन्सी सेन्टरमा जान सकिने टिकटकले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*