विपिन जोशीको उद्धारको लागि अझ प्रभावकारी कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण

हेटौंडा टुडे
२०८२ श्रावण २८, बुधबार १४:४५ गते

हेटौंडा । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले इजरायलमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका कूटनीतिक पहल अझ प्रभावकारी सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै गैरेले जोशीको आमा र छोरी हाल इजरायल पुगेको अवस्थामा उनको वास्तविक अवस्था पत्ता लगाई स्वदेश फर्काउने वातावरण निर्माण गर्न माग समेत गरेका हुन् ।

उनले भने, ‘इजरायलमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीलाई घर फर्कनको लागि नेपाल सरकारले गरिरहेको कूटनीतिक पहललाई अझ प्रभावकारी बनाएर आमा र छोरी इजरायल पुगेको यो बेलामा उनको यथार्थ स्थिति पत्ता लाग्ने र नेपालमा स्वागत गर्न पाउने वातावरण निर्माण गर्न सदनको ध्यानाकर्षण गर्न चाहन्छु । विश्वशान्तिको पक्षमा सधैँ खडा भएको नेपालले आफ्नो एउटा नागरिक युद्धको नाममा बन्धक बनाइनु, बेपत्ता पारिनु गलत मात्र होइन अमानवीय कार्य हो । यस्तो कार्य बन्द हुनुपर्छ ।’

हमास समूहले कब्जामा लिएका विपिन जोशीको रिहाई एवम् मध्यपूर्व लगायतका ठाउँमा रहेका लाखौं नेपालिहरूको सुरक्षाका लागि थप कूटनीतिक पहल बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गरेको हो ।

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो । जोशीलाई भने बन्धक बनाइएको थियो । उनको अवस्था अझै अज्ञात छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*