भाषणबाट होइन कामबाट प्रमाणित गर्नेछु : मुख्यमन्त्री बानियाँ

हेटौंडा टुडे
२०८२ श्रावण २८, बुधबार १६:५० गते

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी प्रदेश सरकारले काम गर्ने बताउनुभएको छ । प्रदेशसभाको आजको बैठकको विशेष समयमा उहाँले जनतालाई अनुभूति हुने गरी जनमुखी, सेवामुखी, विकासमुखी र आयमुखी काम गर्न प्रदेश सरकार अग्रसर रहेको उल्लेख गर्नुभयो ।

विगतका सरकारहरुले गरेका राम्रा कामहरुलाई वर्तमान सरकारले प्राथमिकता राख्ने समेत मुख्यमन्त्री बानियाँले बताउनुभयो । विपद्को कारण भएका क्षतिहरुलाई कार्यतालिका नै बनाएर पुनर्निमाण गर्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । भ्रष्टाचारमुक्त, सुशासनयुक्त, पारदर्शी, जवाफदेही प्रदेश सरकार बनाउन प्रयत्नशील रहेको जनाउँदै मुख्यमन्त्री बानियाँले उत्पादन र रोजगारी बढाउने कार्यलाई सरकारले प्राथमिकताका साथ अघि बढाउँदै लगेको बताउनुभयो ।  समावेशी, दिगो, आत्मनिर्भर र समृद्ध प्रदेश निर्माण गर्नु वर्तमान सरकारको परिकल्पना भएको भन्दै उहाँले विगतमा भएका सकारात्मक कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गरिब जनताप्रति सरकार जिम्मेवार भएर अघि बढ्ने बताउँदै मुख्यमन्त्री बानियाँले मेडिकल, आयुर्वेदिक र भेटेरिनरी पढ्न चाहने, आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न परिवारका छोराछोरीलाई प्रदेश सरकारले छात्रवृत्तिमा पठनपाठन गराइदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री बानियाँले सुशासन र पारदर्शीताको नमुना मुख्यमन्त्री कार्यालय र निवासबाट सुरु गरिने बताउनुभयो । विगतका मुख्यमन्त्रीहरुले कार्यालय र निवासमा गरेको खर्चहरुमा ५० प्रतिशत कटौती गर्ने समेत उद्घोष गर्नुभयो ।

“गरिब निमुखाका छोराछोरी जसले नाम निकालेका छन्, तर उनीहरूसँग पढ्ने पैसा छैन, ती परिवारका छोराछोरीलाई प्रदेश सरकारले जिम्मेवारी लिएर अध्ययनअध्यापन गराउनेछ”, मुख्यमन्त्री बानियाँले भन्नुभयो, “अब गरिब निमुखामध्ये दुई जनालाई मेडिकलमा, दुई जनालाई आयुर्वेदतर्फ र दुई जनालाई भेटेरिनरीतर्फ प्रदेश सरकारले पढाउने छ ।”

सरकार भाषणबाट होइन कामबाट प्रमाणित गर्ने बताउँदै उहाँले चालु आव २०८२÷८३ को बजेटसम्बन्धी सङ्कल्प प्रस्तावलाई सरकारले आत्मसात गरी अघि बढ्ने जानकारी दिनुभयो ।

आजको प्रदेशसभा बैठकको विशेष समयमा रामप्रसाद ढुङ्गाना, शान्ता ढकाल, तारानारायण श्रेष्ठ, उर्मिला सुनुवार, मायादेवी शर्मा, उद्धव थापा, रत्नप्रसाद ढकाललगायत २४ जना  सदस्यहरूले राजनीतिक, आर्थिक, सामाजिकलगायत समसामयिक विषयमा आ–आफ्ना धारणा राख्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*