६ महिना भित्रै प्रतिनिधि सभा चुनाव गराउन आयोग तयार

हेटौंडा टुडे
२०८२ भाद्र ३०, सोमबार ११:५७ गते

हेटौंडा । निर्वाचन आयोगले आगामी फागुन २१ भित्रै प्रतिनिधि सभा निर्वाचन गर्न सकिने जनाएको छ। याँ मतदाता नामावली संकलन गरेरै फागुन २१ भित्र चुनाव सम्भव हुने आयोगले जनाएको हो ।

गत हप्ता जेन-जी पुस्ताले गरेको शक्तिशाली आन्दोलनपछि सरकार ढलेको थियो। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्दै ६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारी दिएका छन्। कार्कीले पनि आफू पदको रसस्वादनका लागि नभई चुनाव सम्पन्न गर्न सत्तामा आएको बताएकी छिन्। यद्यपि, एमाले लगायत केही दलले प्रतिनिधि सभा विघटन र चुनाव घोषणाको विरोध गरिरहेका छन्। तर, युवाको दबाबपछि ती दलभित्रै पनि चुनावमा सहभागी हुनुपर्ने मत बलियो बन्दै गएको देखिन्छ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार ६ महिनाभित्र नयाँ मतदाता नामावली सङ्कलन गरी सहजै चुनाव गराउन सकिन्छ। यसका लागि मतदाता नामावली ऐन, २०७३ संशोधन आवश्यक रहेको उनले बताए।

हालको ऐनमा निर्वाचन मिति घोषणा भएपछि नामावली सङ्कलन गर्न नमिल्ने व्यवस्था छ। तर, १९९७ देखि २०१२ बीच जन्मिएका जेन-जी पुस्ताका धेरै युवाको नाम नामावलीमा नरहेको भन्दै सरकारले संशोधन गरेर उनीहरूलाई मताधिकार दिने तयारी गरेको छ।

आयोगले आवश्यक सामग्री खरिद, मतपत्र छपाइ र ढुवानीलगायतका काम तोकिएको अवधिभित्रै सम्पन्न गर्न सकिने दाबी गरेको छ। मतदाता नामावली सङ्कलन र प्रशोधनका लागि जम्माजम्मी दुई महिना लाग्ने आयोगको अनुमान छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*