हेटौंडा । हिन्दुहरूको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ ।
दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।
आज घटस्थापनाको साइत बिहान ९ः१३ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।
पहिलो दिन माता शैलपुत्रीको पूजा गरिन्छ । देवी दुर्गा माताका नौ रूपमध्ये पहिलो रूप शैलपुत्री हुन् । मार्कण्डेय पुराणअनुसार पर्वतराज हिमालयकी पुत्री भएकी कारण उनलाई हिमालयराजकी छोरी, पार्वती, सेती, हेमवती वा शैलपुत्री नामले चिनिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन शैलपुत्रीको पूजा तथा आराधना गर्ने प्रचलन छ ।
जमरा राख्ने विधि
- शुद्ध बिजको प्रयोग गर्ने ।
- शुद्ध तथा अध्याँरो ठाउँ चयन गर्ने ।
- जौं(यद्यपी मकै, गहुँ, धान, मकै) को बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।
- कुनै टपरी/ गमलामा थोरै बालुवा(माटो) राख्ने ।
- बिजलाई बालुवा(माटो) मा बराबर मात्रामा राख्ने ।
- हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।
- उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।


















