दुई महिनामा रेमिट्यान्स मार्फत ३ खर्ब ५२ अर्ब रुपैयाँ नेपाल भित्रियो

हेटौंडा टुडे
२०८२ आश्विन २९, बुधबार ११:३८ गते

हेटौंडा । चालु आर्थिक वर्षको दुई महिनामा रेमिट्यान्समार्फत ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ नेपाल भित्रिएको छ ।

जसमा भदौ महिनामा मात्र नेपालीले विदेशबाट १ खर्ब ७४ अर्ब पठाएका छन् । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८२र८३ को दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो।  २०८२ भदौ महिनाको विप्रेषण आप्रवाह रु. १७४ अर्ब ६७ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १२७ अर्ब ९९ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.३८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.२८७ अर्ब ७६ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*