तिहार नआउदै बजारमा बढ्न थाल्यो भाइ मसला अथवा ‘ड्राइफ्रुट्स’ को भाउ

हेटौंडा टुडे
२०८२ आश्विन २९, बुधबार १३:०० गते

हेटौंडा । तिहारमा भाइ मसलाका रुपमा ‘ड्राइफ्रुट्स’ को धेरै व्यापार हुन्छ । अरु समयमा खासै यसको बिक्री कमै मात्र हुने गरेको भएपनि अहिले भाइ मसलाको रुपमा ‘ड्राइफ्रुट्स’को धेरै बिक्री हुने भएपछी यसमा थोक बिक्रेता र खुद्रा बिक्री गर्नेले मनलाग्दी रुपमा बिक्री गर्न थालेका छन् । तिहार दाजु भाई र दिदि बहिनीको लागि विशेष चाड मानिन्छ। तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइ भाइमसला दिने परम्परा रहेको छ ।

हेटौंडा बजार क्षेत्रका पसलै पिच्छे ग्राहक बनेर सोध्ने हो भने भाइ मसला अर्थात ‘ड्राइफ्रुट्स’ को मुल्य फरक फरक पाइन्छ । बजारका पसलहरुमा भाइमसलाको मुल्यमा निकै फरक पाइने भएकोले उपभोक्ताहरु समजै रुपमा ठगिने गरेका छन् । तिहार आउन एक साता भन्दा बढी बाँकी रहँदा हेटौंडा बजारमा ‘ड्राइफ्रुट्स’ को भाउ बढेको छ । अन्य समयमा कम खपत हुने तर विशेषगरी तिहारमा यस्ता वस्तु बढी मात्रामा खपत हुने गर्छ । हेटौंडाका खुद्रा पसल होस या थोक पसल सबैमा भाइमसलाका रुपमा प्रयोगहुने ‘ड्राइफ्रुट्स’ को भाउ बृद्धी गरिएको छ ।

तिहारमा विभिन्न प्रकारका सुक्खा फलहरू जस्तै काजु, नरिवल, छोकडा, ल्वाङ, बदाम, किसमिस, ओखर, मखना, मिश्री, दालचिनी, सुकुमेल र अन्जिर प्रयोग विशेषरूपमा बढी हुन्छ । उपभोक्ताले आफ्नो सुविधा अनुसार प्याक गरिएका वा खुला भाइमसला खरिद गर्न रुचाउँछन् ।

दशैंमा ड्राइफ्रुट्सको भाउ बढेको थिएन । तर, दशैंलगत्तै भाउ बढेर आएको व्यवसायीहरु बताउछन । तिहारमा उस्ता सामानहरुको माग बढ्दै जाँदा अहिले नबढेका र स्थिर रहेका वस्तुको भाउ अझै बढ्न सक्ने उनको भनाइ छ । ‘नयाँ सामान ओखर, पिस्ता, नरिवल र मखनाको मूल्य बढेर आएको छ यहाँका व्यापारीहरु बताउँछन् ।

व्यवसायीका अनुसार ओखरको भाउ प्रतिकिलो २० रुपैयाँले बढेको छ । यस्तै पिस्ताको भाउ पनि ७५ देखि १ सय रुपैयाँसम्म बढेको छ ।

ओखर हाल होलसेलमा किलोको ४ सय ५० रुपैयाँ रहेकोमा भाउ बढेसँगै ४ सय ७० पुगेको छ । खुद्रा व्यवसायीहरू ओखर दुई प्रकारको आउने र त्यसको मूल्य पनि फरक हुने बताउँछन् । खुद्रामा अहिले ओखर प्रतिकिलो ५ सयदेखि ६ सय ५० रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।

काजुको मूल्यमा भने कुनै परिवर्तन नआएको व्यवसायीको भनाइ छ । यसको होलसेल मूल्य किलोको १ हजार ५ सय ५० रुपैयाँ रहेकोमा खुद्रामा भने १ हजार ७ सयदेखि १ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

पिस्ताको मूल्यमा ७५ देखि १ सय रुपैयाँले वृद्धि भएसँगै पहिले किलोको १ हजार ९ सय ५० रुपैयाँ रहेकोमा अहिले २ हजार ५० रुपैयाँ पुगेको छ । भाउ नबढ्दै व्यवसायीले २ हजार २ सय रुपैयाँमा पिस्ता बेच्दै आएका थिए । भाउ बढेसँगै व्यापारीले पिस्ताको खुद्रा मूल्य २ हजार ४ सयदेखि २ हजार ७ सय रुपैयाँसम्म पुर्‍याएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*