नेपाल सरकार र जापान सरकारबीच वि.पी. राजमार्गको बाढी प्रभावित खण्डहरूको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा बिहीबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।
गत असोजको बाढी पहिरोको कारण क्षति भएको राजमार्गको पुनर्निर्माणको लागि जापान सरकारले २ अर्ब ६० करोड रूपैयाँ अनुदान दिनेगरी सम्झौता गरिएको हो।
महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलाञ्चोक जिल्लाको धुलीखेलसम्म १५९ किलोमिटर लम्बाई भएको बिपी राजमार्ग नेपालको एक महत्वपूर्ण राष्ट्रिय राजमार्ग हो। यो राजमार्गको निर्माण जापान सरकारको अनुदान सहयोगमा गरिएको थियो।
गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण सो राजमार्गका विभिन्न खण्डहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए, जसमा विशेष गरी रोशी नदी आसपासका केही भागहरू पूर्ण रूपमा नष्ट भएका थिए।
ती क्षतिग्रस्त खण्डको पुनर्निर्माण र मर्मतसम्भारका लागि जापान सरकारले नेपाल सरकारलाई २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको अनुदान सहायता दिने भएको छ।
अनुदान सहायतासम्बन्धी एक्स्चेन्ज अफ नोट्समा नेपाल सरकारको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र जापानको तर्फबाट नेपालका लागि राजदूत महामहिम तोरु माएदाले हस्ताक्षर गरे।
त्यसैगरी, अनुदान सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापानको तर्फबाट जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरे।
वि.पी. राजमार्ग नेपालको पूर्व–पश्चिम आवागमनमा वैकल्पिक मार्गका रूपमा रहेको र यसले आर्थिक गतिविधि, पर्यटन, र स्थानीय जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पु-याउँदै आएको छ। जापानको सहयोगमा हुन लागेको यो पुनर्निर्माण कार्यले उक्त मार्गलाई दीगो र सुरक्षित बनाउन मद्दत गर्ने जनाइएको छ।


















