हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–५ ढुसिनीपुल नजिक सोमबार साँझ भीरबाट खसेर खहरे खोलामा अड्किएकी एक बालिकाको प्रहरीले सुरक्षित रूपमा उद्धार गरेको छ । मंसिर ८ गते साँझ स्थानीय छबेली बस्ने हिरा स्याङ्तानकी १४ वर्षीया छोरी रजना स्याङ्तान करिब ५० मिटर तल खसेर खोल्सामा अड्किए पछि प्रहरीले सुरक्षित रूपमा उद्धार गरेको हो ।
उक्त दिन रजना स्याङ्तान घरबाट ‘छबेली बजार जान्छु’ भनी एक्लै हिँडेकी थिइन् । केही समयमै उनी अचानक भीरबाट तल खसेर बिच खोल्सामा अड्किएको स्थानीयबाट सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार कार्य थालेको थियो। जोखिम पूर्ण स्थानमा अड्किएकी बालिकालाई सुरक्षित रूपमा निकालेर भीमफेदी स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारका लागि पुर्याइएको प्रहरीको भनाइ छ।
स्वास्थ्य चौकीमा प्रथमिक उपचारपछि थप परीक्षण र उपचारका लागि रजनालाई हेटौंडा अस्पताल पठाइएको छ । बाहिरी चोट नदेखिए पनि ढाडतर्फ भित्री चोट लागेको अनुमान गरिएको र सामान्य अवस्थामै रहेको चिकित्सकहरूले बताएका छन्। उपचारका क्रममा बालिकाका बुवा समेत सहभागी रहेका छन्।

















