हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ४७० किलो लागु औषध (गाँजा) सहित एक बोलेरो पिकअप गाडी नियन्त्रण गरेको छ । भिमफेदी गाउँपालिका–३ पान्द्राङस्थित ढुङ्गा खानी जाने भित्री रोडबाट बिहीबार बिहान करिब ९ बजेतिर ४७० किलो गाँजा सहित बा १७ च ४२ नम्बरको बोलेरो पिकअप नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार कालिटार–नामटार क्षेत्रमा रातिको समयमा प्रतिबन्धित लागूऔषध ओसार–पसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले नामटारबाट भैसेतर्फ आउँदै गरेको सो गाडीलाई रोकेको थियो। तर चालकले गाडी रोक्न नमानेपछि प्रहरीलाई शंका लागेर पछ्याउने क्रममा गाडी पान्द्राङको ढुङ्गा खानी जाने बाटोमा लक गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
रितपूर्वक चेकजाँच गर्दा गाडीको पछाडिको ढालामा राखिएका १७ बोरा भित्र ५० वटा पोकामा प्याक गरिएको गाँजा भेटिएको प्रहरीको भनाइ छ । गाडी चालक भने फरार रहेको र चालक, सवारीधनी तथा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएका छन।
प्रहरीले बरामद सामग्री सहित लागूऔषध मुद्दामा आवश्यक कारबाही अगाडि बढाएको बताइएको छ।

















