सडक विस्तारका लागि भत्काएका संरचनाका कारण हेटौंडा बजार क्षेत्र असुरक्षित बन्दै

हेटौंडा टुडे
२०८२ मंसिर २९, सोमबार १२:१५ गते

हेटौंडा ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौँडा बजार क्षेत्रमा सडक डिभिजन कार्यालय हेटौँडाले मङ्सिर २० गते २५ गजभित्र पर्ने पाँच सयभन्दा बढी घर–टहरामा डोजर चलाएको थियो। ती घरहरु अहिले अधकल्चो अवस्थामा रहेका छन । लामो समय देखि सडक विस्तार चर्चा भएको  हेटौँडा बजार क्षेत्र अहिले भत्काइएका संरचनाहरुका कारण असुरक्षित बन्दै गएको छ । भत्काइएका संरचनाका ढुंगा, इट्टा तथा रडका टुक्रा र सीसाका टुक्रा  सडक तथा पेटीहरुमा छरिएका छन् । जसले पैदलयात्री देखि सवारी चालकसम्मले दैनिक सास्ती खेप्नु परेको छ ।

डोजर लगाएर अधकल्चो अवस्थामा छाडिएका ती घर अहिले घरधनीले श्रमिकको साहाराले आफैं घरहरु भत्काइरहेका छन। तर आवश्यक सुरक्षा मापदण्ड नअपनाउँदा दुर्घटना बढिरहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पछिल्लो एक सातामै यस्ता घटनामा पाँच जना निर्माण श्रमिक घाइते भएका छन्। केहि पैसा कामउने र घर चलाउनेको आशाले धराप घरलाइ भत्काउने काम गरेका मजदुर आफै दुर्घटनाको जोखिममा पर्नुपरेको छ ।

भत्किएका संरचनाहरुको व्यवस्थापनमा भने न घरधनीले काम गरेका छन् न नै प्रशासनले नै चासो दिएको छ । अहिले तिनै भत्किएका र धराप बनेका घरका कोठाहरुमा व्यवसायीहरुले जोखिमपूर्ण रूपमा व्यापार सञ्चालन गरिरहेका छन् । अझ कतिपय स्थानमा त भत्किएको संरचनाभन्दा अगाडि बढेर सडक पेटी (फुटपाथ) नै कब्जा गरी सामान राख्ने प्रवृत्ति बढेको छ । बजारका मुख्यचोक र आसपासका क्षेत्रमा सडकपेटी व्यवसायीको कब्जाले सर्वसाधारण मुख्य सडकबाटै हिँड्न बाध्य छन् । अव्यवस्थित सडक र फुटपाथ अतिक्रमणको सीधा असर ट्राफिक व्यवस्थापनमा परेको छ । हेटौंडाको बुद्धचोक, सीमाचोक र मेनरोड क्षेत्रमा सवारी जाम हुने गरेको छ ।

No description available.

घर भत्काउने क्रममा दुर्घटना बढ्न थालेको छ । बुद्धचोकदेखि उत्तरतर्फ पछिल्लो ४ दिनमा भएका अलग–अलग ३ वटा घटनामा परी ५ जना मजदुर घाइते भएका छन् । पछिल्लो पटक आइतबार दिउँसो हेटौंडा–१ पिपलबोटस्थित उद्योग वाणिज्य संघ अगाडि रहेको बिकी जैसवालको घर भत्काउने क्रममा ३ जना मजदुर घाइते भएका छन् । घरधनी आफैंले कामदार लगाएर घर भत्काउने क्रममा दिउँसो करिब ३ः५० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते हुनेहरुमा मकवानपुरगढी गाउँपालिका–१, रानीसेराका २२ वर्षीय सन्तोष भ्लोन, उदयपुर गाईघाट नगरपालिका–९ का २६ वर्षीय दिनेश चौधरी र उदयपुर बेलका नगरपालिका–१, पुरन्दाका ३० वर्षीय अरुण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो ।

स्थानीय र चौकीटोल प्रहरी चौकीको टोलीले उनीहरुको उद्दार गरी अस्पताल पठाएको छ । घाइतेमध्ये सन्तोष भ्लोन र दिनेश चौधरीको मकवानपुर सहकारी अस्पतालमा तथा अरुण चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको छ । यसअघि शुक्रबार पनि सोही क्षेत्रमा घर भत्काउने क्रममा हेटौँडामा डेरा गरी बस्ने २८ वर्षीय द्वारिका यादव घाइते भएका थिए भने गत मंगलबार बिहान हेटौंडा–१ स्थित सुदीप थापाको घर भत्काउने क्रममा दुर्घटना भएको थियो । सडक विस्तारका क्रममा भत्किएको घर सफा गर्दा अचानक दुई तला माथिबाट ढलान खस्दा रौतहट घर भई हेटौंडा–१० बुद्धचोक बस्ने १९ वर्षीय जितेन्द्र माझी घाइते भएका थिए । उनको टाउको र शरीरमा चोट लागेको थियो ।

मङ्सिर २० गते प्रशासनले प्राविधिक रूपमा मात्र घर भत्काएको थियो । पूर्ण रूपमा नभत्काइएका घरहरूको टप, सटर, झ्याल, ढोका र भित्ताहरूमा जेसीबी प्रयोग गरेर बस्न नमिल्ने बनाइएको थियो । करिब ७ किलोमिटर क्षेत्रका ५०० भन्दा बढी घर तथा संरचनाहरूमा जेसीवी प्रयोग गरेपछि सडक तथा प्रशासनले २१ गतेदेखि काम बन्द गरेको थियो । सर्वोच्च अदालतको स्टे अर्डरका कारण काम अघि बढाउन नमिल्ने भन्दै प्रशासनले काम रोकेपछि हाल सडक विस्तार कार्य अन्योलमा देखिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*