देश दोबाटोमा उभिएको छ, फेरि प्रयोगशाला बनाउन खोजिँदैछ : ओली

हेटौंडा टुडे
२०८२ फाल्गुन ७, बिहीबार १३:४४ गते

हेटौंडा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिले दोबाटोमा उभिएको टिप्पणी गरेका छन् । आसन्न निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आहिले भत्काउने र बनाउने दुई सोचबीचक द्वन्द्व जारी रहेको बताएका हुन् ।

‘आज देश यस्तो दोबाटोमा उभिएको छ । जहाँ एकातिर आवेग र आक्रोश छ । अर्कोतिर विवेक र जिम्मेवारी छ,’ ओलीले भनेका छन्, ‘भत्काउने र बनाउने दुई सोचबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदैछ ।’

यतिबेला देश प्रश्नैप्रश्नको घेरामा भएको ओलीको भनाइ छ । ‘निर्वाचनको केही साताअघि हाम्रा प्रतिवद्धता घोषणा गरिरहँदा यस्तो लाग्छ सिंगो समाज प्रश्नैप्रश्नहरूको घेरामा छ,’ ओलीले भने ।

भूमि र स्वाधिनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति, सुव्यवस्थाभन्दा माथि केही नभएको ओलीको भनाइ छ ।

‘यस घडीमा हाम्रो प्राथमिकता एउटै हो, देश पहिला । देशको भूमि र स्वाधिनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति, सुव्यवस्था यी सबैभन्दा माथि केही छैन,’ ओलीले भनेका छन् ।

आफूहरू निर्माणको पक्षमा भएको भन्दै उत्तेजनाको पक्षमा नरहेको उनले बताए ।

‘हामी निर्माणको पक्षमा छौं । उत्तेजनाको पक्षमा होइन । हामी स्वाधिनता र सार्वभौमसत्ताका रक्षक हौं । हामी जस्तै आक्रमणका बेलामा पनि मौन बस्दैनौं,’ ओलीले सम्बोधनको क्रममा भने ।

उनले एमाले विचारहीन र दिशाहीन स्टन्टबाट टाढा भएको पनि दाबी गरे ।

‘हामी भय र त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउन चाहन्छौं । त्यसकारण हामी विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं । हाम्रो गन्तव्य स्पष्ट छ, समृद्ध नेपाल, सुखी नेपाली,’ ओलीले भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*