स्वास्थ्य बीमा व्यवस्थित गर्दै निःशुल्क उपचार सुनिश्चित गर्ने कांग्रेसको घोषणा

हेटौंडा टुडे
२०८२ फाल्गुन ७, बिहीबार १५:१० गते

हेटौंडा। नेपाली कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने योजना सार्वजनिक गरेको छ । बिहीबार चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै पार्टीका सभापति गगनकुमार थापाले स्वास्थ्य बीमालाई सुदृढ गर्दै सबै नेपालीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले हाल अलपत्र परेको स्वास्थ्य बीमा कार्यक्रमलाई एकीकृत प्रणालीमार्फत प्रभावकारी रूपमा सञ्चालन गरिने बताए । जस्तोसुकै रोग लागे पनि नागरिकले निःशुल्क उपचार पाउने व्यवस्था मिलाइने उनको भनाइ थियो ।

थापाले स्वास्थ्य पूर्वाधारको सुदृढीकरण, खर्च नियन्त्रण, आवश्यक जनशक्ति उत्पादन तथा परिचालनमा ध्यान दिइने उल्लेख गरे । साथै ज्येष्ठ नागरिक र बालबालिकाले घरमै स्वास्थ्य सेवा पाउने व्यवस्था गर्ने योजना पनि कांग्रेसले अघि सारेको छ ।

उनका अनुसार उचित स्रोत व्यवस्थापन र तयारीका साथ नेपालमा निःशुल्क स्वास्थ्य सेवा सम्भव रहेको दाबी गरिएको छ ।

उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुने प्रतिज्ञापत्रमा उल्लेख छ।

गर्भावस्थादेखि वृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुने भन्दै परिवारमा कसैलाई रोग लागिहाले कसरी उपचार गर्ने र अस्पतालको शुल्क कसरी तिर्ने भन्ने डरबाट मुक्त हुने कांग्रेसको संकल्प छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*