हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्र सार्वजनिक गरेको छ। फागुन २१ गतेको चुनावका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट वाचा पत्र सार्वजनिक गरेको हो।
वाचापत्र सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।
रास्वपाले रुपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारको रुपमा राखेको छ। रास्वपाले पहिलो बुँदामा संरचनात्मक विभेदको अन्त्यका लागि अझ ठोस कानुनी, नीतिगत र संस्थागत सुधार अघि बढाउने बाचा गरेको छ। बाचापत्रमा भनिएको छ,‘दलित समुदायले नेपालको सामाजिक संरचना, राज्यका कानुन, नीति तथा व्यवहारका कारण पुस्तौंदेखि अन्याय, अपमान, शोषण र बहिष्करण भोग्दै आएको छ। परिणामस्वरूप यो समुदायमा गरिबीको मात्रा र गहिराइ अत्यन्त उच्च रहेको छ। विशेष सीप, क्षमता र सम्भावना बोकेका समुदायलाई प्रोत्साहन र अवसर दिनुपर्नेमा, उल्टै अछूत व्यवहार र संरचनागत अवरोध खडा गरिंदा समग्र समाज नै सीप, प्रविधि र आधुनिकीकरणको यात्रामा पछि परेको यथार्थ हामी स्वीकार गर्छौं। यस ऐतिहासिक यथार्थलाई आत्मसात गर्दै नयाँ सरकार प्रमुखको पहिलो सम्बोधनमै दलित तथा पिछडिएका समुदायहरूमाथि भएका जातीय विभेद, अन्याय र बहिष्करणप्रति नेपाल राज्यको तर्फबाट औपचारिक रूपमा क्षमायाचना गर्छौं। संरचनात्मक विभेदको अन्त्यका लागि अझ ठोस कानुनी, नीतिगत र संस्थागत सुधार अघि बढाउँछौ।’
यसैगरी अन्तिम बुँदामा देश बनाउँछु भन्दै उदाएका, तर सत्ता मा पुगेपछि बिग्रेका दलहरूको लामै इतिहास भएको उल्लेख छ। बाचापत्रमा भनिएको छ, ‘देश बनाउँछु भन्दै उदाएका, तर सत्ता मा पुगेपछि बिग्रेका दलहरूको लामै इतिहास छ। हामीले बाटो नबिराउन बलियो संयन्त्र बनाउनेछौं। पार्टीका प्रत्येक सदस्यले नम्रता, परिश्रम, सेवा, जवाफदेहिता र सबै प्रति सम्मान गर्ने आचारसंहिताको पालना गर्नु पर्नेछ। हामी भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको अभ्यास गर्नेछौं र हामी पार्टीको अनुशासन आयोगलाई थप बलियो बनाउनेछौं।’
















