हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भर्चुअल रूपमा बस्ने भएको छ। केन्द्रीय कार्यालय पुगेका नेताहरू पनि फर्किन थालेका छन्।
हाल स्वास्थ्य लाभ गरिरहेका पार्टी सभापति रवि लामिछानेसँग डिपी अर्याल र डा. स्वर्णिम वाग्ले छन् । नेताहरु शिशिर खनाल, मनिष झा, सोविता गौतम, हरि ढकाल, गणेश कार्की लगायतका नेताहरु कार्यालयमा छन् । अरु केही नेताहरु भने कार्यालयबाट फर्किएका थिए ।
यसअघि रास्वपाले केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने तय थियो। सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएका कारण रास्वपा सचिवालय बैठक भर्चुअल रूपमा बस्न लागेको हो।
फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकबाट थप ५७ सिट पाउनेछ ।
कार्यालयमा पुगेका सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता मनिष झाले भर्चुअल रूपमा बैठक बस्ने जानकारी दिएका छन्। समानुपातिक सूचीमा नाम तय गरी निर्वाचन आयोगमा पठाउन सचिवालय बैठक बोलाइएको हो।
















