हेटौंडा । बागमती प्रदेशमा जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी भवनहरूको पुनर्निर्माण सम्पन्न भएको छ । जेनजी आन्दोलनका कारण १ अर्ब रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको बागमती प्रदेश सरकार पुरानै लयमा फर्किन थालेको छ। आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त बनेका प्रदेशका सरकारी संरचनाहरूको पुनर्निर्माण कार्य सम्पन्न भएसँगै सरकार पुरानो लयमा फर्किन थालेको हो।
सहरी विकास तथा भवन कार्यालय हेटौंडाका प्रमुख भूपेन्द्र यादवले ५ वटा मन्त्रालयका भवनसहित ५ वटा संरचना पुनर्निर्माणका लागि कुल ३ करोड ९५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको जानकारी दिए। ५ मन्त्रालय रहेको भवन पुनर्निर्माणका लागि १ करोड ८४ लाख लागत अनुमान गरिएकोमा सत्गुण कन्स्ट्रक्सनले १ करोड २८ लाखमा ठेक्का सम्झौता गरेर काम गरेको उनले बताए । सम्झौता भएको छोटो अवधिमै निर्माण व्यवसायीले गुणस्तरीय काम सम्पन्न गरेको उनको भनाइ छ।
हालसम्म मन्त्रालय भवन, प्रमुख सचिवको आवास, सहकारी मन्त्रालय लगायतका ४ वटा भवनको काम सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने प्रदेश सचिवालयको भवन मर्मत कार्य अन्तिम चरणमा पुगेको छ।
पुनर्निर्माणका क्रममा रेट्रोफिटिङका साथै प्लास्टर, पेन्टिङ, झ्याल–ढोका मर्मत र रङरोगनका कामहरू गरिएका छन्। साथै, नयाँ लिफ्ट, ट्रान्सफर्मर, एसी जडान, टायल–ग्रेनाइट बिछ्याउने कार्य समेत सम्पन्न भएको छ।


















