हेटौंडा । मकवानपुरका निर्माण व्यवसायी समाज घिमिरेमाथि गएराति हेटौंडा उपमहानगरपालिका–५ स्थित टि टाइम क्याफे अगाडि खुकुरी प्रहार भएको छ।प्रहरीका अनुसार राति करिब ११ बजेतिर अज्ञात व्यक्तिले घिमिरेमाथि खुकुरी प्रहार गरेका हुन्। आक्रमणबाट घिमिरेको टाउको र अनुहारमा गहिरो चोट लागेको छ।
घाइते घिमिरेलाई तत्काल उपचारका लागि हेटौंडाको सहकारी अस्पताल लगिएकोमा हाल उनी उपचाररत रहेका छन्। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्थाबारे निरन्तर निगरानी भइरहेको छ।घटनापछि खुकुरी प्रहारमा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घटनास्थल आसपासका व्यक्तिसँग सोधपुछ गर्नुका साथै उपलब्ध प्रमाण संकलन गरी आक्रमणकारीको पहिचान र पक्राउका लागि खोजी अभियान सञ्चालन गरिरहेको जनाएको छ।


















