हेटौँडा बसाइँसराइको आकर्षण केन्द्र, जाने भन्दा आउने धेरै

हेटौंडा टुडे
२०८३ जेष्ठ २१, बिहीबार १०:४२ गते

हेटौँडा ।  बागमती प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरमा बसोबास गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ ।  हेटौँडा पछिल्ला वर्षहरूमा बसोबास, शिक्षा, रोजगारी, व्यापार तथा स्वास्थ्य सेवाको केन्द्रका रूपमा स्थापित हुँदै गएको कारण देशका विभिन्न जिल्लाबाट बसाइँ सरेर हेटौँडा आउनेको संख्या निरन्तर बढ्दै गएको छ ।

हेटौँडा उपमहानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले हेटौँडा उपमहानगरपालिकामा बसाइँ सरेर आउने क्रम बढ्दो रहेको जनाएको छ ।

बसाइँ सरेर उपमहानगरमा आउनेमा मूलत तराईका जिल्लाबाट रहेको शाखाको अभिलेखले देखाएको छ । तराईका बारा, पर्सा, रौंतहट, सर्लाही र महोत्तरी जिल्लाबाट हेटौँडामा स्थायी बसोवासमा लागि आउने गरेको पाइएको छ । बसोबासका लागि आउने अधिकांश परिवारले उपमहानगरपालिकाका वडा नम्बर ४, ५, ७ र ८ लाई प्राथमिक गन्तव्य बनाउने गरेका छन् ।

पञ्जीकरण शाखाका अनुसार आर्थिक वर्ष २०७९/०८० मा एक हजार २४, आव २०८०/०८१ मा ९५९, आव २०८१/०८२ मा ८१९ र चालु आवको वैशाखसम्ममा ५९३ परिवार बसाइँ सरेर हेटौँडामा स्थायी बसोवासका लागि आएका छन् ।

सोही अवधिमा २०७९/८० मा ५६६ परिवार, २०८०/८१ मा ५८६ परिवार, २०८१/८२ मा ४८० परिवार र चालु आर्थिक वर्षको वैशाखसम्म ३५३ परिवार अन्यत्र बसाइँ सरेर गएका छन्। यसरी चार वर्षमा १ हजार ९८५ परिवार बाहिरिँदा पनि आउनेको संख्या उल्लेख्य रूपमा बढी देखिएको छ।

शिक्षा र स्वास्थ्यसँगै व्यवसाय र रोजगारीको सम्भावना देख्दै बसाइँ सरेर आउने गरेको भन्दै कतिपय हावापानी उपयुक्त भएका कारण पनि हेटौँडा बसोवासका लागि आउने गरेको र तराईमा विगतमा भएको आन्दोलनपछि हेटौँडालाई सुरक्षित बासस्थान बनाउँदै आउनेको सङ्ख्या बढेको हुन सक्ने अनुमान गरीएको छ। मौसमको हिसाबले पनि हेटौँडा अन्य धेरै क्षेत्रको तुलनामा अनुकूल मानिन्छ। तराई र पहाडको बीचमा अवस्थित भएकाले यहाँ अत्यधिक गर्मी वा अत्यधिक जाडो नहुने, भू-अवस्थिति र वातावरण पनि बसोबासका लागि उपयुक्त भएकाले मानिसहरूको आकर्षण बढ्दै गएको हो।

जनसंख्या वृद्धि र बसाइँसराइको बढ्दो प्रवृत्तिसँगै सहरी पूर्वाधार तथा सेवा प्रवाहमा दबाब बढ्ने चुनौती देखिए पनि हेटौँडा उपमहानगरपालिकाले त्यसअनुसार विकास र व्यवस्थापनका योजना अघि बढाएको जनाएको छ। मेयर मीनाकुमारी लामाले हेटौँडालाई बसोबासको गन्तव्य बनाएर आउने नागरिकको सेवा व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो।

‘हामीले शिक्षा, स्वास्थ्य र व्यवस्थित बसोबासलाई आधार बनाएर योजनाबद्ध रूपमा काम गरेका छौं,’ मेयर लामाले भनिन्, ‘बढ्दो जनघनत्वलाई ध्यानमा राखेर विद्यालय भवन निर्माण, कक्षाकोठा विस्तार, गुणस्तरीय शिक्षामा लगानी तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गरिरहेका छौं ।’ उनका अनुसार उपमहानगरका सबै वडामा स्वास्थ्य संस्था सञ्चालनमा छन् भने दुई वडामा अस्पताल सञ्चालनमा ल्याइएको छ। हेटौँडा अस्पतालको सेवा विस्तारका लागि पनि उपमहानगरले सहकार्य गरिरहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*