इरानद्वारा गरिए मिसाइल आक्रमणबाट अमेरिकालाई कुनै क्षति पुगेको छैन : ट्रम्प

हेटौंडा टुडे
२४ पुष २०७६, बिहीबार ०८:४३

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले इराकस्थित अमेरिकी सैनिक क्याम्पमा बुधबार राति गरेका मिसाइल आक्रमणबाट कुनै क्षति नभएको बताएका छन् । ह्वाइट हाउसमा विशेष पत्रकार सम्मेलन आयोजना गरी उनले भने, इरानद्वारा  गरिएका मिसाइल आक्रमणबाट अमेरिकी सेनालाई कुनै क्षति पुगेको छैन । हाम्रा सबै सैनिक सुरक्षित छन् । सैनिक क्यम्पमा थोरै क्षति पुगेको छ ।  इरानी हमलाबाट कुनै पनि इराकी र अमेरिकीलाई क्षति नपुगेको उनको भनाइ थियो । इरानले बुधबार राति इराकस्थित अमेरिकी सैनिक क्याम्पसमा २२ मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए । इरानले कुद्स सेना प्रमुख जनरल कासिम सुलेमानीलाई अमेरिकाले मारेपछि मिसाइल प्रहार गरेको हो ।

इरानी मिसाइल आक्रमणको जवाफ दिने तयारी भइरहेको पनि ट्रम्पले बताए । ुइरानले आफ्नो व्यवहारमा सुधार नगरेसम्म यी शक्तिशाली प्रतिबन्ध जारी रहनेछन्, ट्रम्पले भने, केही महिनायता मात्रै इरानले अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेका जहाजमाथि कब्जा जमाएको थियो । साउदी अरेबियामाथि हमला गरेको थियो र भड्काउने वातावरण बनाएको थियो । उसले दुई अमेरिकी ड्रोन खसालेको थियो ।

कासिम सुलेमानी अमेरिकी नागरिक र सैनिकमाथि आक्रमणको योजनामा रहेकाले रोक्नुपरेको ट्रम्पको भनाइ थियो । अमेरिकाका लागि एक नम्बर आतंककारी बनेकाले सुलेमानीलाई आफ्नै निर्देशनमा मारिएको उनले बताए । इरानी कुद्स सेनाका प्रमुख सुलेमानी गत शुक्रबार अमेरिकी हवाइ आक्रमणमा इराको राजधानी बग्दादमा मारिएका थिए ।

ट्रम्पले आफ्नो मन्तव्यको सुरुआतमै भनेका थिए, ुम अमेरिकी राष्ट्रपति रहुञ्जेल इरानलाई परमाणु हतियार निर्माण गर्न दिइने छैन । मध्यपूर्वमा आफूले शान्ति चाहेको भन्दै ट्रम्पले अस्थिरता र अशान्ति कसैलाई स्वीकार्य नभएको पनि बताए ।

इरानले परमाणु हतियार प्राप्त गर्ने चाहना त्याग्नुपर्ने र आतंककारीलाई सहयोग गर्न छोड्नुपर्ने ट्रम्पको भनाइ थियो । बेलायत, फ्रान्स, जर्मन लगायतलाई इरानसँगको परमाणु सम्झौताबारे निर्णय लिन पनि उनको आग्रह थियो ।

ट्रम्पले अमेरिकालाई मध्यपूर्वको तेलको आवश्यकता नरहेको बताए । उनले भने, अमेरिका ऊर्जाका लागि कसैको भर पर्नुपर्ने अवस्था छैन । हामी ऊर्जामा आत्मनिर्भर छौँ । हामी तेल उत्पादनमा विश्वमा नम्बर १ हौँ । प्राकृतिक ग्यास विश्वमा जहाँ पनि पाइन्छ । हामी आत्मनिर्भर छौँ र मध्यपूर्वको तेल हामीलाई आवश्यक छैन ।ु

इरानका जनता र नेतृत्वले भविष्य सुन्दर भएको देख्न चाहनुपर्ने ट्रम्पको भनाइ थियो । हामी इरानको भविष्य सुन्दर भएको हेर्न चाहन्छौँ । इरानको भविष्य सुन्दर बन्न सक्छ । शान्ति अँगाल्न चाहनेलाई सघाउन अमेरिका सधैं तयार रहनेछ,उनले भने ।

इरानसँग नयाँ परमाणु सम्झौताका लागि सबै मुलुक एक हुनुपर्ने ट्रम्पको भनाइ थियो । उनले इरानसँग ओबामा प्रशासनले गरेको सम्झौता काम नलाग्ने भनेर आलोचना गरेका थिए । इरानसँग परमाणु सम्झौता गर्नका लागि हामी सबै एक ठाउँमा आउनैपर्छ । त्यस्तो सम्झौता गर्नुपर्छ जसले विश्वलाई अझै सुरक्षित र अझै शान्त बनाओस्, उनले भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*