हेटौंडा । मध्यपूर्वमा चलिरहेको तनावलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकहरूका लागि नयाँ चेतावनी जारी गरेको छ। अमेरिकी विदेश विभागले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक विशेष सूचना सार्वजनिक गर्दै विश्वभर र विशेषगरी पश्चिम एशियामा रहेका आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अपील गरेको हो।
जारी चेतावनीमा द्वन्द्वका कारण समय-समयमा हवाई क्षेत्र बन्द हुन सक्ने हुनाले नागरिकहरूको नियमित यात्रामा अवरोध पुग्न सक्ने उल्लेख छ। विदेश मन्त्रालयले पश्चिम एशिया बाहिरका क्षेत्रहरूमा रहेका अमेरिकी कूटनीतिक नियोगहरू समेत लक्षित हुन सक्ने भन्दै सतर्कता अपनाउन भनेको छ ।
सामाजिक सञ्जाल एक्समा विदेश मन्त्रालयले अपिल गर्दै भनेको छ, ‘विश्वभर र विशेषगरी मध्यपूर्वमा बसिरहेका हाम्रा नागरिकहरूलाई थप सावधानी अपनाउन आग्रह गर्दछौं ।’
यसमा भनिएको छ, ‘समय-समयमा हवाई मार्ग बन्द हुँदा उनीहरूको यात्रामा अवरोध आउन सक्छ। मध्यपूर्व बाहिर पनि अमेरिकी कूटनीतिक नियोगहरूलाई निशाना बनाइएको छ।’ विदेश मन्त्रालयले अगाडि भनेको छ, ‘इरानलाई समर्थन गर्ने समूहहरूले विदेशमा अमेरिका र यसका नागरिकहरूसँग जोडिएका स्थानहरूलाई निशाना बनाउन सक्छन्।’


















