हेटौंडा। नेपाल सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय-व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्न लागेका हुन्।
संघीय संसद् सचिवालयका अनुसार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रतिनिधि सभाको हलमा बस्ने संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत हुने कार्यतालिका तय भएको छ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेटको सीमा (सिलिङ) १८ खर्ब ९० अर्ब रुपैयाँ तोकेको थियो। तर, सरकारले आयोगको सीमाभन्दा बढीको बजेट ल्याउने तयारी गरिरहेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार आयोगको उक्त सीमा नाघेर केही ठूलो आकारको बजेट आउने निश्चित भएको जनाएको छ।
मन्त्रिपरिषद् बैठकबाट बजेट पारित भएपछि अर्थमन्त्री डा. वाग्लेले संसद्मा बजेट भाषण वाचन गर्नेछन्। नयाँ बजेटमा सरकारका प्राथमिकता, आर्थिक वृद्धि तथा जनसरोकारका मुख्य विषयहरू कसरी समेटिएका छन् भन्ने कुरालाई आम नागरिक र आर्थिक क्षेत्रले चासोका साथ हेरिरहेका छन्।






















