हेटौडा । सप्ताहव्यापी विविध कार्यक्रमको कार्यतालिका सार्वजनिक टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजनामा यस वर्षको ५४ औँ विश्व वातावरण दिवस २०८३ लाई हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र भव्य रूपमा मनाउन सप्ताहव्यापी विविध कार्यक्रमहरूको घोषणा गरिएको छ । “प्रकृतिको प्रेरणा, जलवायुको संरक्षण, भविष्यको सुनिश्चितता” (Inspired by Nature. For Climate. For Our Future.) भन्ने मूल नारालाई आत्मसात गर्दै आगामी जेठ १६ गतेदेखि जेठ २२ गते (जुन ५) सम्म नगरका विभिन्न वडाहरूमा पर्यावरण सुधार र जनचेतनाका विविध अभियानहरू सञ्चालन गरिने भएको हो ।
यसै सन्दर्भमा समितिको कार्यालयमा आयोजित एक विशेष पत्रकार सम्मेलन मार्फत सप्ताहव्यापी कार्यक्रमको आधिकारिक कार्यतालिका र रणनीति सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले समुदायस्तरबाटै गरिने साना प्रयासहरूले समग्र वातावरणीय सुधारमा ठूलो परिवर्तन ल्याउन सक्ने बताउनुभयो ।
टौंडामा विक्रम संवत २०५६ सालदेखि नै टोल विकास संस्थाहरूको स्थापना भई स्थानीय स्तरमा विकास निर्माण, सरसफाइ, हरियाली प्रवर्द्धन र सामाजिक जागरणमा अग्रणी भूमिका खेल्दै आएको स्मरण गराउँदै उहाँले यस वर्षको अभियानलाई औपचारिकतामा मात्र सीमित नराखी हरेक नगरबासीको जीवनशैलीको अभिन्न हिस्सा बनाइने दृढता व्यक्त गर्नुभयो । अध्यक्ष अधिकारीले भन्नुभयो, “आज विश्वव्यापी रूपमा जलवायु परिवर्तन, बढ्दो तापक्रम, अव्यवस्थित फोहोर व्यवस्थापन र प्लास्टिकजन्य प्रदूषण मानव सभ्यता र भविष्यका लागि गम्भीर चुनौतीका रूपमा देखा परिरहेका छन् । यस्तो अवस्थामा वातावरण स्वच्छ भए मात्र स्वस्थ समाज, सुरक्षित भविष्य र दिगो विकास सम्भव हुने भएकाले प्रत्येक नागरिकले आफ्नो घर, टोल र समुदायको संरक्षणमा जिम्मेवार भूमिका निर्वाह गर्नु अपरिहार्य भइसकेको छ ।”
यस वर्षको वातावरण सप्ताह अन्तर्गत हेटौंडा उपमहानगरपालिकाका ६ वटा वडाहरूमा विशेष रूपमा “बोत्तल देउ, बिरुवा लिउँ” अभियान सञ्चालन गरिने भएको छ । यस सिर्जनशील अभियानमार्फत नगरबासीहरूले प्रयोग गरिसकेका वा फालिएका प्लास्टिकका बोत्तलहरू संकलन गरी तोकिएको केन्द्रमा बुझाएबापत फलफूलका बिरुवाहरू निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
अभियान अवधिभर कुल १,०८० वटा फलफूलका बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ, जसले प्लास्टिकजन्य फोहोरको दीर्घकालीन न्यूनीकरण गर्नुका साथै नगरको हरियाली व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ । यसका साथै, वातावरण संरक्षण र सरसफाइको क्षेत्रमा उदाहरणीय कार्य गर्ने संस्थाहरू र व्यक्तिहरूलाई प्रोत्साहन गर्न समितिले “वातावरण सम्मान २०८३” को घोषणा गरेको छ । सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा उत्कृष्ट योगदान पुर्याउने विद्यालय, मन्दिर, पार्क, सामुदायिक वन, वडा कार्यालय, टोल विकास संस्था, धार्मिक स्थल तथा विभिन्न क्षेत्रका सामाजिक अभियन्ता एवं व्यक्तित्वहरूलाई विशेष सम्मान तथा प्रशंसापत्र प्रदान गरिनेछ ।
सप्ताहव्यापी कार्यक्रमको विस्तृत कार्यतालिका: पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको आधिकारिक कार्यतालिका अनुसार हेटौंडाका विभिन्न क्षेत्रमा तोकिएका वडाहरू र समन्वय संस्थाहरूको सक्रियतामा देहाय बमोजिमका कार्यक्रमहरू सञ्चालन हुनेछन्:
- जेठ १६ र १७ गते: नगरभरी बिहान ७:०० बजेदेखि सम्बन्धित टोल विकास संस्थाहरूको अगुवाइमा विशेष सरसफाई अभियान सञ्चालन गरिनेछ ।
- जेठ १७ गते: हेटौंडा–४ स्थित क्लब हेटौंडामा बिहान ११:०० बजे ‘भान्छा नै औषधालय’ सचेतना कार्यक्रम हुनेछ ।
- जेठ १८ गते: हेटौंडा–८ मा बिहान ७ बजे स्थानीय वडा समन्वय समितिको समन्वयमा फोहोर खोज चुनौती (Trash Hunt Challenge) सञ्चालन गरिनेछ ।
- जेठ १९ गते: हेटौंडा–१ मा दिउँसो ४:०० बजे वडा समन्वय समिति हेटौंडा–११ को व्यवस्थापनमा वृक्षारोपण कार्यक्रम गरिनेछ भने सोही दिन बिहान ११:०० बजे हेटौंडा–७ मा प्लास्टिक मुक्त हेटौंडा–७ सचेतना कार्यक्रम सञ्चालन हुनेछ ।
- जेठ २० गते: हेटौंडा–१८ मा बिहान ७:०० बजे बोत्तल देउ, बिरुवा लिउ कार्यक्रम र दिउँसो ३:०० बजे हेटौंडा–१० मा प्रकृति सम्वाद यात्रा–२०८३ आयोजना गरिनेछ ।
- जेठ २१ गते: हेटौंडा–२ मा बिहान ११:०० बजे जलवायु परिवर्तन सम्बन्धि सचेतनामूलक कार्यक्रम र दिउँसो २:०० बजे हेटौंडा–४ मा वडा समन्वय समिति हेटौंडा–५ को सक्रियतामा खेर गएका वस्तुहरूबाट उत्पादित सामग्रीहरूको प्रतिस्पर्धा आयोजना हुनेछ ।
- जेठ २२ गते: वातावरण सचेतना वृहत र्याली, समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न हुनेछ ।
जेठ २२ गते हुप्राचौरबाट वृहत र्याली निकालिने अभियानको अन्तिम दिन अर्थात् विश्व वातावरण दिवसको मुख्य दिन जेठ २२ गते बिहान ठीक ७:०० बजे हेटौंडा–४ स्थित हुप्राचौरबाट एक वृहत वातावरण सचेतना र्यालीको आयोजना गरिने भएको छ । उक्त र्यालीमा विभिन्न जातजाति र समुदायका परम्परागत बाजागाजा, सचेतनामूलक झाँकी तथा सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिनेछन् । र्यालीले नगरका विभिन्न मुख्य भागहरूको परिक्रमा गर्दै वातावरण संरक्षण, सरसफाइ, प्लास्टिक न्यूनीकरण तथा हरियाली प्रवर्द्धन सम्बन्धी सन्देशमूलक प्लेकार्ड र ब्यानरहरू प्रदर्शन गर्नेछ । यस ऐतिहासिक र्यालीमा हेटौंडा उपमहानगरपालिका भित्रका सम्पूर्ण टोल विकास संस्था, वडा समन्वय समिति, विद्यालय, क्याम्पस, खेलकुद संस्था, युवा क्लब, आमा समूह, स्वयम्सेवक, उद्योगी-व्यवसायी, सामाजिक अभियन्ता, राष्ट्रिय सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सम्पूर्ण हेटौंडाबासी सर्वसाधारणलाई सक्रिय र उत्साहजनक रूपमा सहभागी हुन आयोजक समितिले हार्दिक अनुरोध गरेको छ । “हाम्रो वातावरण, हाम्रो जिम्मेवारी” पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अधिकारीले वातावरण संरक्षण कुनै एक संस्था वा व्यक्तिको मात्र एकल जिम्मेवारी नभई सम्पूर्ण मानव समाजको साझा र अपरिहार्य दायित्व भएको उल्लेख गरे ।






















