हेटौंडा १८ माघ, मकवानपुरको राक्सिराङ गाउँपालिकाको आयोजनामा भएको दोस्रो राक्सिराङ गाउँपालिका गोल्डकपको उपाधि साविक विजेता ३ नम्बर वडाले जितेको छ । शुक्रबार ४ नम्बर वडाको टोलीसँग भएको फाइनल भिडन्तमा ३ नम्बर वडाले १–० को झिनो गोलअन्तरले जित हासिल गरेको हो । ३ नम्बर वडाको तर्फबाट सुजनकुमार ओझाले १ मात्र गोल गरेका थिए । राक्सिराङ–३ सरिखेतस्थित भर्याङकालिकाखेल मैदानमा भएको प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
पुस १८ गतेबाट भएको प्रतियोगितामा ९ वटा वडाको ९ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा बेस्ट मिडफिल्डरमा ४ नम्बर वडाका अनुष ब्लोन, बेष्ट डिफेन्स नवराज लो, बेष्ट गोलकिपरमा ३ नम्बर वडाका सुदिपकुमार ओझा, बेष्ट फरवार्डमा पुनर शाह, बेष्ट कोचमा पनि ३ नम्बर वडाकै खेमराज लामा घोषित भए ।
बेष्ट मेनेजरमा ४ नम्बर वडाका जीवन मोक्तान घोषित हुँदा फाइनल खेलमा निर्णायक गोल गर्ने ३ नम्बर वडाका सुजनकुमार ओझा बेष्ट प्लेयर घोषित भए । उनीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
राक्सिराङ गाउँपालिका खेलकुद समितिका संयोजक सन्तोष थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, गाउँपालिका खेलकुद विकास समितिका सदस्य सिंहराम ब्लोन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।