मन्त्रि भडेलद्वारा रुद्रेश्वर मन्दिर परिसरमा सिद्ध विनायक गणेश मन्दिरको उद्घाटन

हेटौंडा टुडे
२१ मंसिर २०७८, मंगलवार २२:११

हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले कुनैपनि धर्म संस्कृतिको रक्षाका लागी दल विशेष वा राजनितिले फरक नपार्ने बताउँनुभएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रुदे्रश्वर मन्दिर परिसरमा सुवेदी परिवारद्वारा निर्मित सिद्धि विनायक गणेश मन्दिरको उद्घाटन गर्दै मन्त्री भडेलले धर्म संस्कृतिनै हाम्रो पहिचान भएकाले आफ्नो पहिचान कायम राख्नका लागी बागमति प्रदेश सरकार तयार रहेको स्पष्टपार्नुभयो ।
मन्त्री भडेलले धर्म सस्कृतिले कुनैपनि मुलुकलाई सुसंस्कृत र सम्पन्न पार्ने भएकाले विभिन्न धर्म र संस्कृति जोगाउने मठ, मन्दिर, चैत्य, गुम्बा, मस्जिद निर्माणमा कुनैपनि कन्जुस्याई नहुने बताउँनुभयो । उहाँले रुद्रेश्वर मन्दिर परिरसलाई धार्मिक पर्यटकिय रुपमा विकास गर्न सकिने भएकाले आफ्नो मन्त्रालय र बागमती सरकारका तर्फबाट सहयोगका लागी पहल गर्ने विश्वास दिलाउनुभयो । कार्यक्रममा बागमती प्रदेशका सांसद सन्त चेपाङले रुदे्रश्वर मन्दिर परिसरको विकासका यसअघिको प्रदेश सरकारले खासै चासो नदेखाएको दावी गर्दै अव सहयोग गर्ने वचन दिनुभयो यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँले रुद्रेश्वर मन्दिर परिसरको विकासका लागी आफु सधै तत्पर रहेको उल्लेख गर्दै छिट्टै आफ्नै लगानीमा शिवमन्दिर निर्माण सुरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रुद्रेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजिव सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगरसमितिकी उपसाभापति डोल्मा स्याङ्बो, वडा नम्बर ८ का वडा सभापति भुपेन्द्र कोइराला लगाएत स्थानियको उपस्थिति रहेको थियो । हेटौंडा ५ निवासी श्रीमती सुमित्रा सुवेदीद्वारा स्वर्गीय श्रीमान जगन्नाथ सुवेदीको स्मृतिमा उक्त मन्दिर निर्माण सम्पन्न गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजिव सुवेदीले जानकारी दिनुभयो । झन्डै २० लाख लागतमा निर्माण भएको उक्त मन्दिरका लागी सुमित्रा देवीले ९ लाख, छोराहरु राजिव सुवेदीले ८ लाख र नारायण सुवेदीले २ लाख ५० हजार तथा सुवेदी परिवारका अन्य सदस्य तथा दाता र भक्तजनहरुबाट सहयोग प्राप्त भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजिव सुवेदीले जानकारी दिनुभयो ।
बैदिक विधिबाट पाँचदिन सम्म पुजा गरेर गणेशको मुर्तिको प्राणप्रतिष्ठा समेत गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*