हेटौंडा। प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते टुँडिखेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति पौडेललाई गणतन्त्र दिवसमा सम्बोधन गर्न पत्र पठाएपछि प्रधानमन्त्री शाहले सम्बोधन नगर्ने खुलेको हो । गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले उनले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ । मन्त्रिपरिषद्ले गणतन्त्र दिवस मूल समारोह समिति भने प्रधानमन्त्री शाहकै नेतृत्वमा बनाएको छ ।
यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद् बैठकमा पनि प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुखसमक्ष पेश गरेका थिए । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाह नजाँदा विपक्षीले संसद् बैठक अवरुद्ध गरे र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए ।
यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने र राष्ट्रपतिको उपस्थिति रहने परम्परा रहेकोमा यस पटक सो परम्परा तोडिने देखिएको छ ।






















