मकवानपुरगढी गाउँपालिका बालमैत्री घोषणा

हेटौंडा टुडे
२०७८ चैत्र १२, शनिबार २३:२३ गते

हेटौंडा । मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । शनिबार प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गाउपालिकालाई बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गर्नुभएको हो । उहाँले मकवानपुरको मकवानपुरगढी गाउँपालिका, पाँच हजार ३ घरधुरी, २५ हजार १०५ जनसंख्या भएको पर्यटकीय तथा ऐतिहासिक मकवानपुरगढी गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार संचालन ऐन २०७४ले निर्दिष्ट गरेका सुचक र मापदण्डहरु पुरा गरेको हुदाँ वडा नम्बर एक देखी आठ सम्म र सिंगो गाउँपालिकालाई नेपालको चौथो तथा ५१ सुचकमा नेपालको दोस्रो बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका भन्दै बालमैत्री गाउँपालिका घोषणा गर्नुभएको थियो । शनिबार गाउँपालिकाका आठै वडाका जनप्रतिनिधि नागरिक समाजलाई साक्षी राखेर बालमैत्री गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष विदुर हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा सबै वडालाई ताम्रपत्र प्रदान गरिनुका साथै गाउँपालिकाका पूर्व जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, राजनैतिक व्यक्तित्व तथा बालमैत्री घोषणा अभियानका विभिन्न सामाजिक तथा गैरसरकारी संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संघीय अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, संविधान सभा सदस्य प्रह्लाद लाछिाने, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवे, गाउँपालिका स्तरीय बालसंजालका अध्यक्ष विशाल तिमल्सिना, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखे लगायत सामाजिक संघसंस्था तथा राजनैतिक दलका प्रतिनिधिहरुको अतिथ्यता रहेको थियो ।

वडा नम्बर ५ मा रहेको खेलमैदानमा भएको घोषणा सभा कार्यक्रममा सिमलटार र भालुखोला क्षेत्रबाट हजारौं संख्यामा पञ्चेबाजा, खैजडी भजन, तामाङ समुदायका झाँकीहरुको साथमा विभिन्न सहकारी, वन समूह, युवा क्लब, विद्यालय,टोल विकासबाट बालमैत्री सम्बन्धी नारा लगाउदैं ¥याली निकालिएको थियो । घोषणा सभामा राष्ट्रिय कलाकार निशान भट्टराई, स्वातिका ढकाल, प्रकाश तामाङ तितुङले आफ्नो सांगीतिक प्रस्तुती दिनुका साथैं विद्यालयका बालबालिकाले गायन, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।

गाउँपालिकाले घोषणा पछिको दिगोपनाको योजनाहरु तयार पारेको भन्दै आगामी बजेटमा प्रत्येक वडामा बजेट निकासा गरि सबै सुचकको दिगोपनको कार्यक्रमहरु गरिदैं अघि बढिने गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताउनुभयो । उहाँले गाउँपालिकामा यस अभियान सुरु हुनुभन्दा अघि वार्षिक ३५र३६ वटा वालविवाहको तथ्याङ रहेको छ तर बाक्लै बालविवाह भएको त्यो अवस्था र अहिलेको अवस्था फरक रहेको अध्यक्ष हुमागाईले बताउनुभयो । शुन्य नभएता पनि घट्दोक्रममा रहेको भन्दै बालबालिका लक्षित नर्सरीदेखी कक्षा १२ सम्मका प्रत्येक विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गाउँपालिकाले गरेपछि बालबालिकाहरु विद्यालय जानेको संख्या बढ्दो रहेको बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*