पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालीनदी मेला सुरू

हेटौंडा टुडे
२९ पुष २०८१, सोमबार १२:१५

मनोकांक्षा पूरा गर्ने कामनाले उपत्यकाको पूर्वी भेगमा एक महिने कठोर माधवनारायण व्रत सुरू भएको छ । शालीनदीमा बिहानैदेखि व्रतालु एवं भक्तजनको भीड लागेको छ । स्वस्थानी व्रत र साँखु शालीनदी मेला आजदेखि सुरू भएको छ । हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने सालीनदी मेला आज स्नान गरी सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि ब्रत सुरु हुन्छ।

माधवनारायण व्रतका नियमहरु ,व्रतालुले एक महिनासम्म नून, माछा, मासु, मरमसला, पशुपन्क्षी तथा जनावर, जुत्ता, मोजा, मगन्ते, रजस्वला भएकी महिला, जुत्ता, चप्पल लगाएका मान्छेलाई छुन नहुने सनातनदेखिको नियम छ । व्रतालुले दूध र पानी बाहेक अन्य पेयपदार्थ सेवन गर्नुहुँदैन ।

व्रतालुको भोजनहरु जस्तै दूध, चामलको भात, घ्यू, चाकु, चिनी, चिउरा, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मुला र पाटने पालुङ्गो मात्र भोजन गर्नु पर्ने माधवनारायण व्रतका नियम रहेको  छ । “भीमा एकादशीका दिन व्रतालुले दुई पटक व्रत बस्नुपर्छ, व्रतपछि सुन्तला, उखु, तरूल, पिँडालु, दूधलगायत फलाहार मात्र भोजन गर्ने नियम छ, भोजनमा  जौ, तिल, कोदो, मकै, गहुँ, भटमास तथा व्रतमा भोजन गर्न वर्जित गरिएका चीज आएमा भोजन छोड्नुपर्छ, यस्तो अवस्थाका लागि पहिल्यै चिउरा, चाकु, घ्यू आदि नजिकै राखेर अर्कै थालमा बसेको स्थानबाट नउठी खान  पर्दछ । व्रतालुले भोजन गर्दागर्दै उठ्नुहुँदैन । उठेमासँगै छोएर भोजन गरिरहेका अन्य व्यक्तिलेसमेत भोजन छोड्नुपर्छ । उठेपछि फेरि भोजन गर्नुहुँदैन , भन्ने मान्नेता छ ।

व्रतालुले गर्न नहुने

व्रतालुले सवारी चढ्न हुँदैन । बिरामी हुँदा पनि औषधि सेवन गर्न पाइँदैन । आफन्तको जुठो, सुतक बार्नुपर्दैन । साबुन तथा अन्य वस्तु छुन तथा प्रयोग गरी स्नान  गर्नहुँदैन । गोल तथा दन्तमञ्जन प्रयोग गर्नुहुँदैन । व्रतालुले उपरखुट्टी लगाएर, मेचमा र खाटमा बस्न पनि हुँदैन । नाङ्गो गोडाले एक महिना हिँडेरै व्रत समापन गर्नुपर्छ ।

भगवान् विष्णुको स्वरूप श्री माधवनारायणको प्रतिमालाई साक्षी राखी यो व्रत प्रत्येक वर्ष पौष शुकल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*