हेटौंडा । हेटौंडा अस्पतालले एड्स हेल्थकेयर फाउन्डेशन (AHF) नेपालको सहकार्यमा कण्डम साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। हेटौंडा अस्पतालको मिटिङ हलमा आयोजित उक्त कार्यक्रममा ६० भन्दा बढी स्वास्थ्यकर्मी, नर्स, सुरक्षागार्ड, तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको नेतृत्व वरिष्ठ बालरोग विशेषज्ञ डा. हरि बहादुर खड्काले गर्नुभएको थियो। उहाँले कण्डमको प्रभावकारिता, प्रकार, सही प्रयोग गर्ने तरिका, सामाजिक तथा सांस्कृतिक अवरोधहरू तथा नेपालमा कण्डम वितरण कार्यक्रमहरूबारे विस्तृत जानकारी दिनुभयो। विशेष अतिथिका रूपमा मदन भण्डारी एकेडेमिक साइन्सका प्राध्यापक डा. दिनेश कुमार लम्साल, हेटौंडा अस्पतालकी म्याट्रोन समिता लामा लगायतको उपस्थिति रहेको कार्यक्रम अन्तरक्रियात्मक तथा जानकारीमूलक रहेको सहभागीहरूले बताएका छन्। सहभागीहरूलाई कण्डम प्रयोग सम्बन्धी मिथकहरू हटाउने, कण्डम वितरण रणनीति, तथा STI/HIV रोकथामका लागि स्वास्थ्यकर्मीहरूको भूमिकाबारे प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई कण्डम प्रचार-प्रसारमा सक्रिय भूमिका खेल्न आग्रह गर्दै कार्यक्रम समापन गरिएको थियो।






















