हेटौंडा । कहिलेकाहीँ अचानक नाकबाट रगत बग्न थाल्छ । त्यसरी रगत बग्नुलाई नाथ्री फुटेको भन्ने चलन समुदायहरुमा छ।अचानक नाकबाट रगत बग्ने समस्याले मानिसहरू डराउँछन् । तर, नाकबाट रगत बग्नुका पनि विभिन्न कारण हुन्छन् । यो समस्यालाई मुख्यतयाः दुई भागमा हेर्न सकिन्छ ।
पहिलो कारण नाकभित्रै हुन्छ । नाक कोट्याउने, नाक चलाइरहने र धेरै सीँ सीँ गर्ने बानी छ भने रगत बग्न सक्छ । नाकमा चोट लाग्दा पनि रगत आउन सक्छ । नाकको पछाडिपट्टिको नसा फुटेर पनि रगत बग्न सक्छ । कहिलेकाहीँ त रगत बग्नुको कारण थाहा नहुन पनि सक्छ । दोस्रो, शरीरका अन्य अंगमा हुने कुनै समस्याका कारण नाकबाट रगत आउने हुन सक्छ । मिर्गौला र कलेजोमा कुनै समस्या हुँदा पनि नाकबाट रगत बग्न सक्छ ।
त्यस्तै कुनै औषधिको प्रयोगले पनि यस्तो हुन सक्छ। रगत पातलो गराउने औषधि खाने व्यक्तिको नाकबाट रगत बग्ने समस्या हुन सक्छ। बुढेसकालमा खास कारणबिना पनि नाकबाट बग्न सक्छ। नाकमा धेरै रगत सञ्चालन हुने र नसा पनि धेरै हुने भएकाले अचानक कुनै नसा फटेर रगत बग्छ।
नाकबाट रगत आउने कारण
१.सुख्खा नाकको झिल्ली
नाकको भित्री झिल्ली सुख्खा हुँदा रक्त नलीहरू कमजोर भई फुट्न सक्छ । यो विशेष गरी सुख्खा मौसम, कम आर्द्रता वा धेरै समयसम्म एसिजडित कोठामा बस्दा हुन्छ ।
२.नाकमा चोटपटक
नाकमा चोटपटक लाग्दा रगतका नशाहरू फुट्न सक्छन् र रगत बाहिर निस्किन सक्छ । औँलाले कोट्याउने बानी वा कडा वस्तुले ठोक्किनाले रक्तनली फुट्न सक्छ ।
३.वातावरणीय कारक
धुलो, धुवाँ, रसायन वा प्रदूषणले नाकको झिल्लीमा जलन पैदा गरी रक्तस्राव हुन सक्छ ।
४.रक्तसम्बन्धी रोग
रगत जम्ने प्रक्रियामा गडबडी जस्तै हेमोफिलिया वा प्लेटलेट्सको कमीले पनि नाकबाट रगत बग्न सक्छ ।
५.औषधिको प्रभाव
रगत पातलो पार्ने औषधि जस्तै एस्पिरिन, वारफारिन वा नाकमा प्रयोग हुने स्टेरोइड स्प्रेले रक्तस्रावको जोखिम बढाउन सक्छ ।
त्यसका साथै क्यान्सरका कारण नाकभित्र मासु पलाउँदा, ब्लड क्यान्सर, कलेजोसम्बन्धी समस्या र मिर्गौलाको समस्या भएमा रगत आउन सक्छ । उच्च रक्तचाप, मुटुको समस्या, मधुमेह जस्ता रोगका कारण पनि नाकबाट रगत बग्ने सम्भावना रहन्छ । यस्तो समस्या भएका सबैलाई नाकबाट रक्तस्राव हुन्छ भन्ने चाहिँ छैन ।
नाकबाट रगत बग्दा तत्कालै घरेलु उपचार पनि गर्न सकिन्छ। नाकको वरिपरि आइस (बरफ) लगाएर चिसो बनाउँदा रगत बग्न कम हुन्छ। नाकको प्वालमा कपास राखेर पनि रगत रोक्न सकिन्छ। नाकबाट अचानक रगत बग्दा आत्तिने हुन सक्छ। नआत्तिईकन नाकको प्वाल थिचेर निहुरिनुपर्छ, यसो गर्दा रगत बग्न बिस्तारै कम हुन्छ। माथितिर फर्किँदा रगत मुखमा आउँछ। नाक बन्द गर्दा रगत मुखतिर जान सक्छ। मुखमा गयो भने पनि फरक पर्दैन, निलिएछ भने पनि केही हुन्न। बिस्तारै रगत बग्न कम हुन्छ तर पाँच मिनेटसम्ममा पनि बन्द भएन भने अस्पताल जानुपर्छ।


















