मैले कुनै पनि अनुचित काम गरेको छैन र मैले अनुचित कामलाई प्रोत्साहन दिन पनि चाहन्नँ : माधव नेपाल

हेटौंडा टुडे
२०८२ जेष्ठ २२, बिहीबार १६:०२ गते

हेटौंडा । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै उनले आफूले कुनै अनुचित काम नगरेको र कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको स्पष्टसमेत पारेका छन् । उनले यसलाइ प्रतिशोधपुर्ण कदम भनेका छन् ।

बिहीबार गृह जिल्ला रौतहटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले आफूविरुद्ध सुरुदेखि नै षड्यन्त्र भएको र राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको आरोपसमेत लगाए। ‘मैले कुनै पनि अनुचित काम गरेको छैन र मैले अनुचित कामलाई प्रोत्साहन दिन पनि चाहन्नँ,’ उनले भने, ‘न्यायभन्दा ठूलो कुरो केही हुँदैन, सत्यभन्दा ठूलो कुरो केही हुँदैन।’

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार नेपालविरूद्ध विशेष अदालतमा पतन्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी लिइएको छ।

काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको आरोपमा अध्यक्ष नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो। तर पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान थालेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*