हेटौंडा। विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म एक महिनाका लागि रोक लगाइएको जनाएको छ ।
कार्यालयले सार्वजनिक अपील गर्दै मनसुन सक्रिय रहेको अवस्थामा विपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा आजदेखि साँझ ५ बजेदेखि विहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको हो । काठमाडौंबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने बताइएको छ।
मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि विपी राजमार्गमा साँझ ६ः३० बजेदेखि विहान ५ बजेसम्म करिब दश घण्टा १५ दिन तथा थप असार मसान्तसम्म सोही समयमा सडक सञ्चालनमा रोक लगाइएको थियो । यस अवधिमा काठमाडौंबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिएको थियो ।
बितेका एक हप्ताको समयमा बाढीपहिरोले करिब चार पटक उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा सडक अवरुद्ध भइसकेको छ । गतसाल असोजको बाढीपहिरोले विपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडक नै बगाएका कारण खोलामा कतै एक्तर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ ।


















