यस पटकको वडा दसैँको फूलपातीको भव्यतासँगै रिलिज हुने तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’को विशाल साइजको नयाँ पोस्टर सार्वजनिक गरिएको छ। ६० फिट अग्लो र १६ फिट चौडाइको यो पोस्टर बिहीबार काठमाडौंको गोङ्गबु बसपार्कस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरिएको हो।
सार्वजनिक गरिएको पोस्टरले चलचित्रको भाव, शैली र उद्देश्यको एक स्पष्ट चित्र प्रस्तुत गर्दै दर्शकको ध्यान खिच्न सफल भएको छ।
‘बलिदान’को सार्वजनिक पोस्टरमा रगतले लतपतिएका र क्रुद्ध मुद्रामा देखिएका अभिनेता समीर भट्ट एक मानव आकृतिमाथि भालाजस्तो देखिने धारिलो अस्त्र प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत छन् । उनको अनुहारमा आक्रोशको भाव झल्किन्छ ।
आकाशमा कालो बादल, जमिनमा अन्धकार र पृष्ठभूमिमा आगोको रापले यो पोस्टरलाई अझ प्रतीकात्मक र सिनेम्याटिक बनाएको छ । ‘बलिदान’ विदेशी चलचित्रहरूको भीडमा पनि आत्मबल, गहिरो कथावस्तु र प्रस्तुतीकरणको निखारले फरक पहिचान कायम गर्ने तयारीमा छ।

निर्देशक सन्तोष सेनले ‘बलिदान’ एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात रहेको बताए । फिल्ममा गहिरो कथावस्तु र प्रस्तुतीकरणको निखारले ‘बलिदान’ले फरक पहिचान कायम गर्ने उनको विश्वास छ ।














