हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
सरकारले एक वर्षमा गरेका प्रमुख उपलब्धि, आगामी प्राथमिकता तथा सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलबाट उठाइएकालगायत समसामयिक विषयवस्तुमा केन्द्रित रही उनले सम्बोधन गर्नेछन् । संसद्को नियमित कार्यसूचीअन्तर्गत प्रतिनिधिसभा नियमावलीबमोजिम सांसदहरूले सोधेको प्रश्नको समेत प्रधानमन्त्री ओलीले आजै जवाफ दिने कार्यक्रम यसअघि नै तय भएको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।






















