हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ। सोमबार दिउँसो १ बजे हेटौंडामा बैठक बस्ने तय भएको हो।
बागमती प्रदेशमा मुख्यमन्त्री बहादुर सिंह लामा माथि २१ सांसदको हस्ताक्षर सहित कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा मुख्यमन्त्री लामा माथि २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
प्रदेशसभामा कांग्रेसको भूमिका कमजोर भएको र नागरिकमा मुख्यमन्त्री लामाको नेतृत्वमा आशा जगाउन नसकेको भन्दै साउन ९ मा अविश्वास प्रस्ताव दर्ता भएको हो । १८ सांसदको उपस्थितमा दर्ता भएको उक्त अविश्वास प्रस्तावको प्रमुख जड प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट कार्यक्रममा केन्द्रित रहेको छ ।
बागमतीमा कांग्रेसका ३७ जना सांसद छन्। तीमध्ये दल नेता तामाङको विरूद्धमा २१ जना उभिएका छन् भने उनको पक्षमा १६ जना सांसद छन्। बागमती कांग्रेसमा मतभेद देखिएपछि सभापति शेरबहादुर देउवाले सहजीकरणका लागि प्रतिनिधि सभा सांसद राजन केसीलाई खटाएका छन्। केसी आइतबार नै हेटौंडा पुगेका थिए। उनले दुवै पक्षसँग कुराकानी गरिरहेका छन्। गत शुक्रबार कांग्रेसका ४ जना मन्त्रीले मुख्यमन्त्रीलाई राजीनामासमेत पठाएका थिए। मुख्यमन्त्रीले मन्त्रीहरूको राजीनामा स्वीकृत नगरेर केही घन्टामा बर्खास्त गरेका थिए।
सांसद मीनकृष्ण महर्जनले आज दिउँसो १ बजे संसदीय दल बैठक बस्ने जानकारी दिए।
‘आज संसदीय दल बैठक बस्दैछ। २१ जनाले हस्ताक्षर बुझाएपछि पहिलो पटक बैठक बस्न लागेको हो। सकेसम्म सहमति प्रयास होला नभए संसदीय दल नेता चयन गर्न चुनाव हुन सक्छ, चुनावबाट जो संसदीय दल नेता बन्छ उही बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्छ, हाम्रो अभ्यास यही हो,’ महर्जनले भने।
चुनाव भएमा अहिलेका संसदीय दल नेता तामाङ र सांसद ईन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुने देखिएको छ।
२०७९ पुस १३ गते भएको संसदीय दल नेता निर्वाचनमा बानियाँलाई लामाले ५ मतान्तरले हराएका थिए। बानियाँले १६ मत ल्याउँदा लामाले २१ मत ल्याएका थिए।
एक वर्षमा यो मत ठ्याक्कै उल्टिँदा लामा जोखिममा परेको सांसदहरूको गत शुक्रबारको हस्ताक्षरले देखाउँछ। बानियाँ र लामा दुवै निर्माण व्यवसायी पृष्ठभूमिका हुन् भने दुवै सभापति शेरबहादुर देउवानिकट छन्।


















