हेटौंडा। नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान मङ्गलवार सम्म हुने बताएका छन । उहाँले चितवनको भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै चितवनमा लोडसेडिङ नभएको बताउँदै विद्युत् वितरण प्रणाली अपग्रेड गर्न खोज्दा आपूर्तिमा समस्या भएको पनि बताउएका छन ।
त्यहा देखिएको समस्या छिटो समाधानका लागि नेपाल हितेन्द्रदेव शाक्य सोमबारै बिहान चितवन पुगेका थिए । सकेसम्म सोमबारबाटै विद्युत् आपूर्ति नियमित गर्ने तयारीमा प्राधिकरणको प्राविधिक टोली खटिरहेका बेला शाक्य पनि चितवन पुगेका हुन् । चितवनबाट प्राधिकरणले लोडसेडिङ सुरू गर्यो भनेर हल्ला चलिरहेका बेला शाक्य आफैँ त्यहाँको समस्या समाधान गर्न खटिएका हुन् ।
लोडसेडिङ अब नेपालमा नहुने तर कहिलेकाहीँ आउने प्राविधिक समस्यालाई बुझिदिनुपर्ने उहाँको भनाई थियो । चितवनमा भइरहेको विद्युत् आपूर्तिको समस्या बढ्दो लोड तथा पुरानो र जीर्ण वितरण प्रणालीबाट भएको शाक्यको भनाइ छ । ‘पहिले नै यहाँको सिस्टम अपग्रेड गर्नुपर्ने थियो, काममा ढिला भएको पक्कै हो, गर्मी बढेपछि समस्या उत्कर्षमा पुग्यो’ कार्यकारी निर्देशक शाक्यले भन्नु भयो, ‘अब मङ्गलवार बेलुकासम्म चितवनको विद्युत् आपूर्तिको समस्या समाधान हुन्छ, अहिलेको जस्तो अवस्था आउँदैन ।’
उहाँले पानी नपरेका कारण किसानहरूले खेतमा गाडिएका बोरिङ सबै एकैतिर चलाउँदा लोड धान्न नसकेको दाबी गर्नुभयो ।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पुरानो भरतपुर वितरण केन्द्रको निरीक्षण पछि विद्युत् आपूर्ति बन्दको एक दिने सूचना निकालेर आलोचित बनेको चनौली वितरण केन्द्रको समेत निरीक्षण गर्नु भयो । शाक्यले आजै पूर्वी चितवनको हर्दीमा २४ एमभीएको ट्रान्सफर्मर जडान, परीक्षण तथा प्रसारणका विषयमा जानकारी लिन जाने कार्यक्रम रहेको शाक्यका सचिवालय सदस्य इन्जिनियर नारायण अर्यालले जानकारी दिनुभयो ।


















