हेटौंडा। बुटवल-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्ड अवरुद्ध भएको हो ।
दाउन्नेको पैसठ्ठी मोड नजिकै सडक हिलो र चिप्लो हुँदा गाडी फसेको हुँदा आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । ‘हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सकेका छैनन्, हिलो बाटोमा ट्रकहरू फसेर समस्या हुने गरेको छ’, उनले भने, ‘पूर्वबाट पश्चिम जाने सवारी उकालोमा चिप्लिएकाले धेरै समस्या हुने गरेको छ ।’
आज बिहानदेखि सडक अवरुद्ध भएको हो । बर्खामा पानी पर्ने र गाडी उकालोमा चिप्लिने गरेकाले धेरै समस्या हुने गरेको छ । दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
बुटवल–नारायणगढ सडक खण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यो क्षेत्रमा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने अवस्था छ ।


















