हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। एमाले–कांग्रेस गठबन्धनको नेतृत्व गरिरहेका बानियाँले संवैधानिक प्रावधानअनुसार तोकिएको समयभित्र विश्वासको मत लिने तयारी गरेका हुन् ।
गठबन्धनको सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री बानियाँले आगामी भदौ १८ गतेसम्ममा संसदबाट विश्वासको मत लिइसक्नुपर्ने बाध्यता रहेको छ । मुख्यमन्त्री बानियाँले साउन २७ का लागि विश्वासको मत लिने गरी संसद् बैठक बोलाउन प्रदेशसभा सचिवालय समक्ष जानकारी गराएका हुन् ।
साउन २० मा मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ । मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।
कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँले आफ्नै दलका तत्कालीन नेता बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै दल नेतामा विजयी भएका थिए । त्यसपछि दलको दबाबमा लामा मुख्यमन्त्रीबाट राजीनामा दिन बाध्य बनेका थिए ।
साउन २० मा सत्ता सम्हालेका बानियाँले साउन २२ मा एक विनाविभागीयमन्त्रीसहित कांग्रेसका दुई र एमालेका ६ मन्त्रीलाई मन्त्रिपरिषदमा समावेश गरेका छन् । बागमती प्रदेशमा १४ मन्त्रालयमध्ये गठबन्धनको भागबन्डाअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित आठ र एमालेले ६ मन्त्रालय पाउने सहमति भए पनि हालसम्म ६ मन्त्रालयको जिम्मा बानियाँकै काँधमा रहेको छ। विश्वासको मत प्राप्त गरेपछि मात्रै सरकारले पूर्णता पाउने अपेक्षा गरिएको छ।


















