हेटौंडा । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानेर खसेको पहिरो हटाइसकिएको छ । पहिरो हटाइसकेकाले सवारी आवागमन एकतर्फी खुलेको छ ।
पहिरो खसेपछि गत शुक्रबारदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी आज बिहान चार बजेदेखि पहिरो पन्छाउन सुरु गरिएको थियो । आइतबार अपरान्ह सवा ४ बजेबाट राजमार्ग एकतर्फी सुचारु भएको प्रहरीले जनाएको हो ।
त्यसैगरी प्रहरीका अनुसार सोमबार बिहानसम्म ४ वटा राजमार्गको विभिन्न स्थानमा बाढी पहिरोका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । कोशी राजमार्ग, नेपाल र चीन नाका जोड्ने गोसाइकुण्डको पुल, पासाङ ल्हामु र अरनिको राजमार्गको विभिन्न ठाउँमा पूर्णरूपमा अवरोध रहेको प्रहरीले जनाएको छ ।
यता गल्छी त्रिशूलीदेखि मैलुङ स्याफ्रु सडक, नारायणगढ–मुग्लिन सडकखण्ड, कालीगण्डकी करीडोर, पूर्व–पश्चिम राजमार्ग र मध्य पहाडी लोक मार्ग भने एकतर्फी सुचारु रहेको प्रहरीले जनाएको छ हो ।



















