मुग्लिन–नारायणगढ सडकको पहिरो पन्छाउन आज दिनभर लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

हेटौंडा टुडे
२०८२ आश्विन ८, बुधबार ११:१० गते

हेटौंडा। मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने देखिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार दिउँसो झरेको पहिरो पन्छाउन बुधबार दिनभर जस्तो लाग्ने भएको हो ।

पहिरो हटाउने काम आज बिहानदेखि शुरू भएको छ । तर सुक्खा पहिरो निकै ठूलो भएका कारण सडक आज  खुल्न नसक्ने अवस्था रहेको छ ।  निरन्तर काम गर्न सकेमा भोलि दिउँसोसम्म सक्ने र सडक खुल्ने सम्भावना रहेको डिभिजन सडक कार्यालय भरतपुर चितवनले जनाएको छ ।

तुइन खोला पुल नजिकै मंगलबार दिउँसो  ४:५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ ।  पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएकोले वैकल्पिक सडक प्रयोग गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।

मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ । यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा राखेको छ । मुस्ताङदेखि तराइ जोड्ने गरी यो सडक प्रदेश सरकारले निर्माण गरिरहेको छ ।

साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ । त्यसका लागि दमौली–खैरेनीटारबाट बायाँतर्फबाट भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट पुग्न सकिन्छ।  मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ । खैरेनीटार–भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद–मानपुर कच्चीसडक ३५ किलोमिटर छ । मानपुर–डेढगाउँ कालोपत्रे (४० किमि), डेढगाउँदेखि नारायणगढ ७० किमी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*