हिमपात र चिसोबाट प्रभावित पर्यटकको उपचारमा खटियाे सशस्त्रको टोली

हेटौंडा टुडे
२०८२ कार्तिक १२, बुधबार १३:५८ गते

हेटौंडा । मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटक अविरल हिमपातबाट प्रभावित बनेपछि उनीहरूको स्वास्थ्योपचारका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ । आज बिहानैदेखि सशस्त्रको टोलीले मुक्तिनाथ मन्दिर प्रवेशद्वारमा स्वास्थ्य शिविर सञ्चालन गरी करिब दुई सय ५० जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको बताइएको छ ।

स्वास्थ्य शिविरमा सशस्त्र प्रहरी बल, नेपाल नं ३३ गुल्मको टोली खटिएको थियो । त्यस क्षेत्रमा हिमपात भएको र एक्कासी चिसो बढेका कारण धैरै पर्यटकमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको छ । उनीहरूको समस्या पहिचान गरी सामान्य प्राथमिक उपचारसमेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैबीच सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिर जाने बाटो र मन्दिर परिसरको हिउँ पन्छाएर पर्यटकलाई सहजीकरण गरेको छ । हिउँ पन्छाउनका लागि आज बिहानैदेखि सशस्त्र प्रहरीको टोली परिचालित भएका छन् । बाटोमा जमेको हिउँ पन्छाएपछि मुक्तिनाथ दर्शनमा सहजता भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*