हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जेनजी आन्दोलनबारे सोधपुछ गर्न सिंहदरबार लगिएको छ । उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले बोलाएसँगै आज नख्खु कारागारबाट लामिछानेलाई सिंहदरबार लगिएको हो ।
भदौ २४ गते आन्दोलनका क्रममा नख्खु कारागारबाट निस्केका लामिछानेसँग जाँचबुझ आयोगले बयान लिन लागेको हो । उक्त आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशी, कारागारमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूसँग घटनाकेन्द्रित बयानसमेत लिइसकेको छ।
जेनजी प्रदर्शनतर्फ सङ्केत गर्दै पत्रमा भनिएको छ– ‘थुनामा राख्दा थप अन्याय हुन जाने तथा देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुना मुक्त गर्न निर्णयअनुसार जानकारी गराइन्छ ।’
भदौ २४ मा प्रदर्शनकारी घेरेर रविलाई जेलबाट बाहिर लगेपछि रास्वपाका मान्छेहरूले आफूलाई पत्रमा हस्ताक्षर गराएको जोशीले बयानमा खुलाएका छन् । आयोगका एक जना सदस्यले जोशीको बयान उद्धृत गर्दै भने, ‘रवि लामिछाने निस्केको डेढ घण्टापछि मलाई पत्र ल्याएर हस्ताक्षर गराए, सुरक्षा चुनौतीको कारण पत्रको ब्यहोरा हेरिनँ ।’
यसअघि उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र विन्देश्वरी भण्डारीले नख्खु कारागारको अवस्थाबारे पनि निरीक्षण गरेका थिए ।






















