मकवानपुरमा मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको भीड

हेटौंडा टुडे
२०८२ कार्तिक २४, सोमबार १३:३५ गते

हेटौंडा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मकवानपुरमा मतदाता नामावली संकलन तीब्र भइरहेको छ । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लागेपछि निर्वाचन कार्यालयमा नाम दर्ता गराउनेको संख्या दैनिक रुपमा बढ्दै गएको छ।

गत भदौ २३ र २४ गत भएको जेन–जी आन्दोलनको पृष्ठभूमिमा प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गतेका लागि चुनावको मिति तय गरिएको छ। निर्वाचन आयोगको नयाँ कार्यक्रम अन्तर्गत नागरिकहरूले फारम भर्ने, फोटो खिचाउने, नयाँ नाम दर्ता गर्ने, विवरण सच्याउने, ठेगाना सार्ने, दोहोरो नाम हटाउने र मृतकको नाम हटाउने काम विधिवत् रूपमा भइरहेको हो ।

असोज १० गतेदेखि आइतबारसम्म ३ हजार ६० जना ले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराइसकेका छन् । आइतबार करिब ३ सय र शुक्रबार २ सय जना हाराहारीले नाम दर्ता गराएका थिए । प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराउनेमा ८० प्रतिशत युवायुवती रहेका छन् ।

निर्वाचन कार्यालयमा आफ्नो मतदाता दर्ता गराउन आएका हेटौँडा–६ गौरीटारका १९ वर्षीय बिमोचन पहाडीले देशको लागि केही गर्ने जस्तो महसुस भएको बताउँदै  दर्ता गर्नु भनेको आफ्नो आवाजलाई मान्यता दिनु रहेको बताए । उनले भन्छन्, “बुबा–आमाको पुस्ताले जे गरे, त्यसको योगदान अलग छ। तर नयाँ पुस्ताले देखाएको आत्मविश्वास र आवेगले भविष्य उज्यालो देखिन्छ। पहिले निसास्सिएको जस्तो वातावरण थियो, अहिले हामीमा आशा छ।”

बिमोचनले विकास अपेक्षाअनुसार अघि बढ्न नसकेको र दिगोपनमा सुधार आवश्यक रहेको औंल्याए। “ब्युरोक्रेसीमा सुधार हुनुपर्छ। पुराना दल आए पनि नयाँ पुस्ताको माग समेटेर नीति परिवर्तन गरे अझ राम्रो हुन्छ,” उनले बताए।

प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुमा बढि युवा पुस्ता रहेका छन। गत भदौ २३ र २४ भएको जेन–जी आन्दोलन पछि युवा पुस्ता जागेका हुन । किनकि देशमा भएको भ्रष्टाचार र गलत नेताहरुले गरेको दमनलाइ जरै देखि उखेलेर फालेपछि नै युवा पुस्ता मा उत्साह थपेको छ। आन्दोलनको मुख्य शक्ति बनेका युवा पुस्ता अहिले मतदाता दर्ता अभियानमा उत्साहका साथ सहभागी भइरहेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले संसद् विघटनको सिफारिस गरेपछि फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई उनीहरूले परिवर्तनको औपचारिक मौकाका रूपमा लिएका छन्। मकवानपुरलगायत देशभर असोज १० देखि कार्तिक मसान्तसम्म सञ्चालन भइरहेको मतदाता दर्ता अभियानले नयाँ मतदाताहरूमा उत्साह थपेको छ।

निर्वाचन आयोगले कात्तिक ३० गते सम्म मतदाता नामावलीमा नाम दर्ता गराउने समय तोकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*