हेटौंडा । राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने भएको छ।
निर्वाचन आयोगले बिहीबारबाट राष्ट्रिय परिचपत्रको विवरणको आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको हो। यसका लागि बुधबार रातभरि प्राविधिक तयारी र परीक्षणका काम भएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।
यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउनेछ।
यही ३० कात्तिकसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ। मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ मतदाताको संख्या पनि बृद्धि हुँदै आएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदाता सूचीमा नाम लेखाउन मिल्ने भएपछि अब बाँकी दिनमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यले थप रफ्तार पाउने आयोगका अधिकारीहरू बताउँछन्।
कार्यवाहक आयुक्त भण्डारीले अब राष्ट्रिय परिचय पत्र बनाइसकेकाहरूले मतदाता नामावली दर्ताका लागि घरबाटै अनलाइन फारम भरेर नाम दर्ता गराउन सक्ने छन्। बिहीबार आयोगमा जेन-जी युवाहरू समेतको उपस्थितिमा आयोगले राष्ट्रिय परिचयपत्रबाट बायोमेट्रिक विवरण प्रयोग गर्ने परीक्षणसहित शुभारम्भ गरेको छ।






















