हेटौंडा । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित खानेपानीको बोतलमा तोके भन्दा बढी शुल्क नलिन निर्देशन दिएको छ ।
विभागले सोमबार विज्ञप्ति जारी गर्दै बोतलको पानीमा तोके भन्दा बढी अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) रकम असुल नगर्न व्यवसायीलाई निर्देशन दिएको हो । होटल, रेस्टुरेन्ट लगायत स्थानमा बोतलको पानी एमआरपीभन्दा बढी मूल्यमा बिक्री भइरहेको पाइएको र उपभोक्ता गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो ।
विभागका अनुसार उत्पादकले तोकेको एमआरपीभन्दा बढी मूल्यमा खानेपानी बिक्री गर्नु उपभोक्ता संरक्षण ऐन २०७५ तथा नियमावली २०७६ विपरीत कार्य हो । यदि कुनै उपभोक्ताले बढी मूल्य लिएको भन्दै उजुरी वा सप्रमाण दाबी गरे सम्बन्धित व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन तथा नियम अनुसार कारबाही स्वरूप जरिबाना र क्षतिपूर्ति समेत गरिने चेतावनी दिइएको छ ।
सिलबन्दी बोतलको पानी उपभोक्तालाई उपलब्ध गराउँदा एमआरपीभन्दा बढी रकम असुल नगर्नु हुन सूचित गरिएको छ भनि विज्ञप्तिमा लेखिएको छ।






















