हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन चाहने दलको संख्या बढेर १०८ पुगेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार बेलुकीसम्म दल संख्या १०८ पुगेको हो।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थपिएर आइतबारसम्म कायम गरिएको छ । यस अवधिभित्र अझ केही दल दर्ता प्रक्रिया पूरा गर्न सक्ने सम्भावना रहेको छ । यसैबीच निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा रहेका दलको संख्या १६ रहेको छ । ती दलले आधिकारिता पाएपनि निर्वाचन प्रयोजनका लागि दर्ता गर्न सक्नेछन् ।
२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ८४ दलले मात्रै सहभागिता जनाएका थिए। यसपटक भने संख्या उल्लेखनीय रूपमा बढेको छ। निर्वाचन आयोगमा हालसम्म दर्ता भएका दलको कुल संख्या १३९ पुगेको छ । बिहीबार माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्काको नेपाल जनसेवा पार्टी दर्ता भएका छन् ।
यसअघि बुधबार सबिन सिग्देलको प्रगतिशील नागरिक पार्टी, दीपककुमार साहको सर्वोदय पार्टी, तथा सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी दर्ता भएका थिए । यससँगै जेनजी आन्दोलनपछि दर्ता भएका नयाँ दलको संख्या २३ पुगेको छ ।






















