हेटौंडा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिवद्ध रहेको बताएका छन्। किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्रा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले यस्तो बताएका हुन्।
‘संवेदनशिल समयमा सरकारमा सहभागी छौं। मुलुकलाई परिवर्तनको बाटोमा अगाडि बढाउने दायीत्व सबैको काँधमा छ। यसतर्फ हामी सबैको ध्यान जाओस्। सरकार पनि चुनाव गर्दै सुशासनको अनुभूति गराउन प्रतिवद्ध छ,’ उनले भने।
मन्त्री खरेलले किताब जात्राले पठन संस्कृतिको विकासमा ठूलो योगदान पुर्याएको भन्दै प्रसंसा गरेका थिए। उनले शिक्षाभन्दा ठूलो संसारमा केही नभएकाले कोही पनि शिक्षाबाट बञ्चित हुन नहुने बताएका थिए। शिक्षा अँध्यारो हटाउने उज्यालो ज्योति भएकाले जीवनका प्रत्येक पलमा पठन संस्कृतिलाई अंगाल्न आग्रह गरेका थिए।
फाउन्डेशनले भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धनार्थ सात वर्षदेखि निरन्तर ‘किताब जात्रा’ कार्यक्रम गर्दै आएको छ। कार्यक्रममा सामाजिक गहिराई, परम्परागत मूल्यको विश्लेषण, राजनीतिक सन्दर्भको भूमिका, सुनौलो भविष्यका लागि विभिन्न क्षेत्रका विज्ञहरू दिशाबोधका विषयमा गहन बहस र समीक्षा गरिने किताब जात्रा फेष्टबलका निर्देशक ऋषिराम अधिकारीले बताए। किताबको अक्षर वा शब्द थाक्दैनन्। तर, मानिस थाक्छ। कथा भने हिँडिरहन्छ। यस्तै कथाको प्रतिनिधित्व हो किताब जात्रा,’ उनले भने। समाजमा शिक्षा र चेतनाको स्तर उकास्नका लागि पनि किताब जात्रालाई निरन्तरता दिइएको उनले बताए।
उनले पठन संस्कृतिको विकासका लागि नेपाल मात्र नभएर देश बाहिर पनि यस्तै खाले कार्यक्रम गर्दै आएको बताए। उनले देशभित्र र बाहिर गरेर १५ वटा कार्यक्रम गरिसकेको जानकारी दिएका छन्।






















