कुलमान घिसिङ पनि रास्वपा पार्टीमा, उपसभापति हुने

हेटौंडा टुडे
२०८२ पुष १५, मंगलवार १०:५९ गते

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता गर्ने सहमति भएको छ। यो सहमतिसँगै अब घिसिङ पनि राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति हुनेछन् । सहमति अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा संगै जाने सहमति भएको छ । सोमबार राजधानी काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच भएको वार्तामा यस्तो सहमति बनेको हो ।

सहमति अनुसार, एकतापछि बन्ने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। दलको झन्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी रहने, चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमति भएको छ।

रास्वपाका सभापति रवि लामिछाने र उनेपाका अध्यक्ष अनुपकुमार उपाध्यायले सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । बालेनले साक्षीका रूपमा हस्ताक्षर गरेका छन् । रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने सहमति छ ।

यसअघि रास्वपा र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहबीच चुनावमा सँगै जाने गरी ७ बुँदे सहमति भएको थियो । सो सहमति अनुसार, अब शाह रास्वपाका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुनेछन् ।

सहमतिपत्रमा नवयुवाहरू (जेन–जी)ले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात गर्दै घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ । यस्तै, उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यता प्रणाली (मेरिटोक्रेसी)को स्थापना, भ्रष्टाचार शून्य सहनशीलता र सुशासनप्रति प्रतिबद्ध रहँदै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने प्रतिबद्धता पनि जनाइएको छ ।

‘मुलुकको परिवर्तित राजनीतिक घटनाक्रमले सिर्जना गरेको विशिष्ट परिस्थितिलाई हृदयङ्गम गरी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आमनागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबिच सहकार्य गर्दै नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्न अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै, २०८२ साल भदौ २३ र २४ को जेन–जी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनका सहिद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्र सेवाको साझा लक्ष्य हासिल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (पहिलो पक्ष) र उज्यालो नेपाल पार्टी (दोस्रो पक्ष) बिच देहायका सहमति भएको छ,’ सहमतिपत्रमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*