हेटौंडा । नेपाल एकीकरणका महान् नायक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने भएको हो ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ ।
नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्र निर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।
राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको यस दिनले नेपाली समाजमा जातीय, भाषिक र सांस्कृतिक विविधताबीच एकता र सद्भाव कायम राख्ने सन्देश दिने अपेक्षा गरिएको छ ।
पृथ्वीनारायण शाहको “नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो” भन्ने दूरदर्शी भनाइलाई आत्मसात् गर्दै राष्ट्रिय एकता कायम राख्नु नै यस दिवसको मुख्य उद्देश्य रहेको बताइएको छ । सो सो अवसरमा आज देशभर सार्वजनिक विदा दिइएको छ ।


















