हेटौंडा–१२ मा सुत्केरी बस्न आएकी एक महिलाको राप्ती खोलामा शव फेला

हेटौंडा टुडे
२०८२ पुष २८, सोमबार १४:०२ गते

हेटौंडा । हेटौंडा–१२ आँपधापमा एक महिनाकी सुत्केरी महिला राप्ती खोलामा मृत भेटिएकी छिन् । सुत्केरी बस्न माइती आएकी एक महिला  राप्ती खोलामा डुबेको अवस्थामा भेटिएको हो। सो घटनाले हेटौंडा–१२ आँपधाप क्षेत्र शोकमा डुबेको छ।

काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका–८ घर भई हाल मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१२ भोर्लेस्थित माइती बुवा विष्णु स्याङ्तानको घरमा सुत्केरी बस्न आएकी ३७ वर्षकी मिलन स्याङ्तान एक महिनाको छोरा घरमै छोडेर माइती घरबाट निस्किएकी थिइन्।

सम्पर्कविहीन भएपछि परिवारजनले खोजतलास गर्दै जाने क्रममा हिजो दिउँसो करिब १२ बजे माइती घरबाट अन्दाजी ३ किलोमिटर पश्चिमतर्फ पर्ने हेटौंडा उपमहानगरपालिका–१२ आँपधापस्थित राप्ती खोलामा पानीभित्र डुबेको अवस्थामा उनको शव फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकसहितको टोली दिउँसो करिब २ बजे घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरेको थियो। त्यसपछि शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको थियो। साँझ करिब ७ः३० बजे पोस्टमार्टम सम्पन्न भएपछि मृतकका जेठाजुले शव बुझिलिएका छन्।

एक महिनाको दूधेबालक आमाको काखबिनै रहनु परेपछि परिवार मात्र होइन, सिङ्गो बस्ती नै स्तब्ध बनेको छ। हाँसिखुसी सुत्केरी खान आएकी मिलन स्याङ्तानको असामयिक निधनले आँपधाप क्षेत्रमा शोक छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*