हेटौंडा । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि मकवानपुर जिल्लामा यही माघ २५ गतेदेखि एचपीभी खोप अभियान सुरु हुने भएको छ। नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुने उक्त अभियानमा जिल्लाभरका किशोरीलाई लक्षित गरेर खोप लगाइने भएको हो।
मकवानपुरका १० वटै स्थानीय तहका ६ कक्षामा अध्ययरत १० वर्ष उमेर समूहका ४ हजार ४ सय ३ जना किशोरीलाई एचपीभी खोप लगाउन लागिएको जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख लक्ष्मण घिमिरेले बताए ।
पहिलो चरणमा माघ २५ देखि फागुन १ गतेसम्म विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित गरी खोप अभियान सुरु गरिनेछ । त्यसपछि फागुन २२ गतेसम्म दोस्रो चरणअन्तर्गत नियमित खोप अभियान सञ्चालन गरिने निमित्त प्रमुख घिमिरेले जानकारी दिए ।
हरेक वर्ष फागुन महिनामा लगाइने भनिएको यो खोप यस वर्ष भने प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण समय अगावै सञ्चालन गर्न लागिएको हो। उक्त खोप नियमित रूपमा उपलब्ध हुने समेत निमित्त प्रमुख घिमिरेले स्पष्ट पारे।


















